जनता टाइम्स

३२ असार २०८३, बिहीबार १४:२०

देशभर सवारी दुर्घटनामा २४ घण्टाभित्र ७ जनाको मृत्यु, ६६ जना घाइते


काठमाडौं, असार ३२ । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्।

नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार झापा, धनुषा, सप्तरी, काठमाडौं, रुपन्देही, कास्की र प्युठानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन्।

दुर्घटनामा घाइते भएका ६६ जनामध्ये कोशी प्रदेशमा १७, मधेश प्रदेशमा १८, काठमाडौं उपत्यकामा १४, बागमती प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ५ तथा सुदूरपश्चिम प्रदेशमा १ जना रहेका नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा सडक चिप्लो हुने, दृश्यता कम हुने तथा सवारी साधन सञ्चालनमा लापरवाही बढ्ने भएकाले सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।