जनता टाइम्स

१७ बैशाख २०७९, शनिबार ०८:५५

सिन्धुपाल्चोकको सुनकोसीमा वाम गठबन्धन, अध्यक्षमा एमाले, माओवादीलाई उपाध्यक्ष


सिन्धुपाल्चोक, बैशाख १७ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन गरेर संयुक्त प्यानल बनाएर जाने सहमति भएको छ । केन्द्रीय नेताहरुले दिएको निर्देशन अस्वीकार गर्दै सुनकोशीमा नेकपा एमालेबाट अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष पाउने गरेर चुनावमा गठबन्धन गर्ने सहमति भएको हो ।

एमालेले अध्यक्षमा टपिन्द्र प्रसाद तिमिल्सिनालाई अघि सारेको छ भने माओवादीबाट दुर्गा थापालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।वैशाख १२ मा मनोनयनका दिन नै गठबन्धन गरेर जाने सहमति भए पनि प्राविधिक कारणले केही समस्या भएकाले त्यो दिन एकल उम्मेदवारी दर्ता भएको नेकपा एमाले सुनकोसी गाउँपालिका कमिटीका अध्यक्ष प्रेमलाल लामाले जानकारी दिनुभयो ।

एमालेको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी मञ्जु नेपाल र माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवर (कल्पना)ले उम्मेदवारी फिर्ता लिएपछि गठबन्धन भएको हो । दुवै पार्टीले वडामा पनि गठबन्धन गरेका छन् । माओवादी केन्द्रले सुनकोसी १ र २ मा वडा अध्यक्षमा आफ्नो उम्मेदवार पाएको छ अन्य वडामा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका छन् ।

वडा नम्बर ५ मा सुरुमा नै एमाले र माओवादीले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएको नेकपा माओवादी सुनकोसी गाउँपालिका कमिटीका अध्यक्ष अमर लामाले जानकारी दिनुभयो । अन्य वडाहरूमा समेत मतदानका दिनसम्म आपसी सहकार्य गरेर जाने अध्यक्ष लामाले जानकारी दिनुभयो ।