जनता टाइम्स

२० बैशाख २०७९, मंगलवार ११:०९

नेकपा एसका अध्यक्ष उम्मेदवारलाई स्थानीयले गराए कान समातेर उठबस (भिडिओसहित)


कालिकोट, बैशाख २०। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेता तथा कालिकोटको नरहरीनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं अध्यक्ष उम्मेदवार धिरबहादुर विष्टलाई स्थानीय युवाले कान समातेर उठबस गराएका छन् ।

सरकारी गाडी दुरुपयोग गर्नूका साथै सार्वजनिक स्थलमा मदिरापान गरेको भन्दै स्थानीय युवाले बिष्टलाई माफी मगाउँदै कान समातेर उठबस गर्न लगाएका हुन् ।

स्थानीय युवाहरुले विष्टसँगै मदिरा सेवनमा सहभागी नरहरीनाथ– ७ का वडाअध्यक्ष दलबहादुर विश्वकर्मालाई पनि कान समातेर उठबस गराएका छन् । उनीहरुले उठबस गराएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडिओमा देखिन्छ– सुर्खेतको एक होटलमा सरकारी गाडीसहित उनीहरु मदिरा सेवन गरिरहेको अवस्थामा केही युवा फेला पार्छन् । विष्टले माफी माग्छन् । र पनि उठबस गराएरै छाड्छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित विष्टले केही दिनअघि अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।