काठमाडौं, २६ वैशाख । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले पदबाट राजीनामा दिनुभएको छ । सरकारविरुद्ध प्रदर्शन जारी रहँदा प्रधानमन्त्री राजपक्षेले पदबाट राजीनामा दिनुभएको हो । उहाँले राष्ट्रपति गोटाबाया राजपक्षेलाई राजीनामा पठाउनुभएको हो । देशमा अभूतपूर्व आर्थिक संकटविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुले राष्ट्रपति गोटाबाया राजपक्षे र उहाँको मन्त्रिमण्डलमाथि राजीनामा दिन दबाब दिइरहेका छन् ।
श्रीलंका सरकारले हाल देशमा संकटकाल लागू गरेको छ । स्थानीय मीडिया रिपोर्टहरुका अनुसार राष्ट्रपति भवनमा गोटाबायाको नेतृत्वमा भएको बैठकमा सहभागी महिन्दा राजपक्षेसँग राजीनामा दिन अनुरोध गरिएको थियो । जसलाई उहाँले स्वीकार गरेको बीबीसीले जनाएको छ ।
श्रीलंकामा क्याविनेटले प्रधानमन्त्री राजपक्षेले देशको खराब आर्थिक अवस्थालाई सम्हाल्न असफल भएका कारण राजीनामा दिएको जनाइएको छ। उहाँको राजीनामासँगै मन्त्रिमण्डल भंग भएको छ । श्रीलंकामा खाद्यान्न, पेट्रोल र औषधिको ठूलो मात्रामा कमी रहेको छ । स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटमा फसेको छ । आर्थिक संकट चुलिएसँगै श्रीलंकाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।













प्रतिक्रिया दिनुहोस्