जनता टाइम्स

२७ बैशाख २०७९, मंगलवार ०५:३३

टोखावासीको नजरबाट प्रकाश अधिकारी नियाल्दा


दीपु पोखरेल/काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा टोखा नगरपालिकाका मतदाता निकै उत्साहित देखिएका छन । नेकपा (एमाले) को तर्फबाट निवर्तमान मेयर प्रकाश अधिकारी नै उम्मेदवार बनेपछि टोखाका मतदाताहरु फेरि आफ्नो पालिकामा राम्रो मानिस मेयरका रुपमा पाइने भयो भन्दै उत्साहित बनेका हुन ।

‘प्रकाश अधिकारी जस्तो मान्छे फेरि मेयरका रुपमा पाउनु हाम्रा लागि गर्वको बिषय हो, उहाँ जस्तो मानिस सधै चाहिन्छ,’ टोखा नगरपालिका–११ का मतदाता मित्रलाल पोखरेल भन्नुहुन्छ । उहाँमा जस्तै अन्य मतदाताहरु पनि अधिकारी जस्तो मानिस फेरि मेयरको उम्मेदवार बनेपछि जीत सुनिश्चित भएको बताउँछन । टोखा नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रबद्र्धन, कृषिको आधुनिकीकरण, साँस्कृतिक सम्पदाहरुको संरक्षण, पार्क निर्माणलगायत सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएकै कारण अधिकारी सफल मेयरका रुपमा मतदातामाझ स्थापित छन । यही कारण उनीहरु भारी मतअन्तरमा अधिकारी जिताउने भन्दै दोस्रो कार्यकालका लागि पनि अधिकारीलाई नै प्रमुखका रुपमा स्थापित गर्न आफै कस्सिएका छन ।

टोखा नगरपालिकाका प्रमुख अधिकारीको मेहनत र लगनशीलताले वर्याैंदेखि विकासको पर्खाइमा बसेका नयाँ संरचनाहरुले ५ बर्षको अवधिमा नयाँ जीवन पाएका छन । कतिपय स्थानीय तहका जनप्रतिनिधिले काम गरेनन भनेर सर्वत्र आलोचना भइरहेको अवस्थामा टोखाका मेयर अधिकारीले आफ्नै पहिचान बनाउन सफल भएकाले पनि मतदाता जिताउन उत्साहित भएको बताउनु हुन्छ टोखा ११ का मतदाता पोखरेल ।

‘प्रकाश अधिकारीलाई नै नेकपा (एमाले) ले दोस्रो कार्यकालका लागि मेयर पदमा उम्मेद्वार बनाएपछि अत्यन्तै उत्साहित भएका छौं । उहाँले पहिला भन्दा निकै फराकिलो मत अन्त्रले चुनाब जित्नेमा हामी ढुक्क छौं,’ पोखरेल भन्नुहुन्छ । पाँच बर्षअघि अधिकारी निर्बाचित भएर आउदा अस्तब्यस्त टोखा नगरपालिकाको हरेक क्षेत्र अहिले ब्यवस्थित भएको छ । पोखरेल थप्नुहुनछ, ‘जनताको समस्यालाई नजिकबाट बुझेका अधिकारीले सडक, ढल र खानेपानीलाई पहिलो प्राथमिकतामा राख्नुभयो । जसका कारण टोखा नगरपालिकामा ८० प्रतिशत सडक पिच भएको छ । बर्षायाममा टोखाबासीले ढलको समस्या भोग्नुपरेको थियो त्यसको ब्यवस्थापन भएको छ । टोखा र झोरको डुबान समस्या पनि समाधान भएको छ ।’

यस्ता थुप्रै काम छन जसले गर्दा अधिकारीले टोखाबासीको मन जित्नु भएको छ । टोखाबासी अधिकारीको उम्मेदवारीलाई आफ्नै उम्मेदवारी ठान्दै अघि बढेका पनि पाइएको छ । त्यसो त मेयर अधिकारीले ५ बर्षे कार्यकालमा बिबादरहितढंगले काम गर्नुभएको छ । एमालेबाट टिकट पाएर चुनाब जितेपनि सबैको अपनत्व हुनेगरी सबैको साझा भएर टोखा नगरपालिकामा कार्य सम्पादन गर्नुका साथै अभिभावकत्व प्रदान गरेकोले पनि अधिकारीले चुनाब जित्नेमा आफु बिश्वस्त रहेको अर्का मतदाता कुमार अधिकारी बताउनु हुन्छ ।

पोखरेलले टोखामा बिकास निर्माणका काम सडक मर्मत, सुधार, ढलको उचित ब्यवस्थापन, सरसफाई, स्वास्थ्य, शिक्षा र नगरलाई ऐतिहासिक र साँस्कृतिक सम्पदाको रुपमा बिकास गर्न महत्वपुर्ण योजना अगाडि बढाउनु भएको छ । अघिल्लो निर्वाचनताका गरिएका प्रतिबद्धता बमोजिम धेरै काम भएको छ । बाँकी रहेका केही अधुरा काम पुरा गर्न अधिकारीको नेतृत्व आवश्यक छ भन्नेमा आम मतदाता एकमत देखिन्छन ।

पोखरेलले टोखा नगरपालिकामा अधिकारीको प्रतिस्पर्धी उम्मेद्वार नभएको पनि ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, ‘टोखामा अधिकारीको प्रतिस्प्रर्धी उम्मेदवार नै छैन । नेपाली काँग्रेसले मेयरको उम्मेद्वार बनाएको ब्यक्ति २०७४ सालको स्थानीय तहको निर्बाचनमा उपमेयर पद्मा पराजित भइसककेको ब्यक्ति हुनुहुन्छ ।’ पोखरेलले प्रमुख अधिकारीले पाँच वर्षको अवधिमा निर्बाचनमा जादा जनतासँग गरेका अधिकाशं प्रतिबद्धता पूरा गरेको, विवादरहित छवी बनाएको, विकासको प्रतिकका रुपमा जनतामाझ लोकप्रिय भएका कारण मेयर अधिकारीले चुनाब जितिसकेको र घोषणा हुन मात्र बाँकी रहेको अनुभुति मतदाताको छ ।

अधिकारीको नेतृत्वमा टोखा नगरपालिकामा बितेको ५ बर्षमा नगरको स्वरुप नै परिबर्तन भएको छ । भौतिक बिकास निर्माणको कामसँगै समग्र महिलाको बिकासका लागि पनि उल्लेखनीय भुमिका खेल्ने प्रमुखको रुपमा आफुहरुले अधिकारीलाई पाएको बताउनु हुन्छ टोखा नगरपालिकाको अर्का मतदाता बिण्णुकुमारी गौतम । उर्बर महिला समुहका सचिब समेत रहनुभएकी शर्माले समृद्ध टोखा बनाउन सडक निर्माण, पुल पुलेसा, ढलको उचित ब्यवस्थापन, शिक्षा, स्वास्थ्य मात्र नभएर समग्र महिलाको क्षमता बिकास गर्न लागि पर्ने प्रमुख भएको अनुभुति सुनाउनु भयो ।

‘महिलाको नेतृत्व बिकासका लागि समुह गठन गर्ने, महिलालाई आत्मर्भिर बनाउन शिपमुलक तालिम दिने, तालिम पश्चात आय आर्जनमा लाग्न प्रेरित गर्ने । बजेट बिनियोजन गर्ने र समय मिलाएर अनुगमन पनि गर्ने, हौसला दिने अभिभावकलाई नै उम्मेदवारका रुपमा पाएका छौं,’ उहाँले भन्नुभयो, ‘सबैलाई समान ब्यवहार गर्ने मेयर पाएकाले महिलाहरु पनि निकै उत्साहित हुनुहुन्छ । उहाँले चुनाब जित्ने र फेरि ५ बर्षका लागि टोखा नगरको नेतृत्व गर्नेमा हामी पुर्णत बिश्वस्त छांै ।’ उहाँले टोखावासी मतदाताले अधिकारीको बिकल्प खोज्नै नसक्ने अनेकन तथ्य पनि प्रस्तुत गर्नुभयो ।

अर्का मतदाता मणिराम शर्मा टोखा नगरपालिकामा बितेको ५ बर्षमा बिकास निर्माणमा अनुकरणीय काम भएको बताउनु हुन्छ । ‘हिलो, धुलो र डुबानको समस्याबाट टोखाबासी मुक्त भएका छन् । खाने पानीको समस्याबाट केही दिनमा मुक्त हुँदैछन,’ शर्माले भन्नुभयो, ‘मेयर अधिकारीको निरन्तरको प्रयासले मेलम्चीको खानेपानी ल्याउने कार्य अगाडि बढेको छ । पाईप बिछ्याउने काम भइरहको छ । केही दिनमा मेलम्चीको पानी टोखा नगरबासीको घरमा पुग्छ ।’

टेलिफोन र बिद्युतको तारले टोखाको सौन्दर्यता हराएकाले तार भुमिगत गर्ने काम पनि अधिकारीकै नेतृत्वमा भइरहेको छ । अधिकारी कुनै पार्टीको मात्र नभएर समग्र टोखा नगरपालिकाको नगरपिता भएर काम गरेकाले उहाँको लोप्रियता पार्टी भित्र मात्र होइन, बाहिर पनि त्यत्तिकै बढेको छ । नगरको समृद्धिका लागि धेरै राम्रा र महत्वपुर्ण काम गर्नु भएको छ । त्यसैले पनि फेरि नगरले अधिकारीको नेतृत्व खोजेको बताउनु हुन्छ शर्मा । मतदाता पनि अधिकारीले दोहोर्याने भएपछि खुशी भएको उहाँको भनाई छ । अधिकारी जनतामाझ लोकप्रिय भएकै कारण एमालेले दोस्रो कार्यकालका लागि दोहोराएको उहाँको बुझाई छ ।

गत स्थानीय तहको निर्बाचन जितेपछि नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रबद्र्धन लगायतका क्षेत्रमा गरेका काम टोखाबासीले नजिकबाट नियाल्नुभएको छ । ती असल काम, पुर्बाधार,चुस्त सेवा प्रवाह, बाँकी रहेका बिकास निर्माणका कामलाई अघि बढाउन उहाँको आवश्यकता छ भन्ने मतदाताको बुझाइ पाइन्छ । पुनः मेयर बन्ने अभियानमा लाग्नुभएका अधिकारी मतदाताको मायालाई आफूले सिरोधार्य गर्ने बताउनु हुन्छ । ‘एमाले नेतृत्वप्रति मतदाताको बिश्वास छ, हामीले काम गर्न सक्छौ भन्ने बिश्वास जनतामा परेकाले फेरि पनि अत्याधिक मतले हाम्रो टीमलाई बिजयी बनाउनु हुन्छ भन्नेमा म बिश्वस्त छु,’ मेयरका उम्मेदवार अधिकारीले भन्नुभयो ।

उहाँले अधुरा काम बाँकी गर्न आफैलाई पार्टीले पुनः अघि बढाएको बताउनु भयो । ‘म निर्वाचित भएपछि ‘समृद्ध टोखा ः सुखी टोखाबासी’ भन्ने नारालाई अगाडि सारेर काम गरेको छु । समग्र टोखाको बिकासका लागि १० बर्षे योजना बनाएर काम अगाडि बढाएको छु,’ अधिकारीले भन्नुभयो, ‘धेरै काम पूरा भएका छन । केही महत्वपूर्ण काम शुरुवातमा कानुन अभाव र त्यसपछि कोभिडका कारण अधुरा छन । ती बाँकी रहेका अधुरा कामलाई पूरा गर्न र समृद्ध टोखा : सुखी टोखाबासी’ को नारालाई सार्थक बनाउन पुनः उम्मेदवार बनेर आएको हो ।’

अधिकारीले ५ बर्षको अनुभबले केही अधुरा काम पूरा गरी एकिकृत बिकास योजनामार्फत टोखालाई समृद्ध शहर बनाउन लागि पर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । अधिकारीका अनुसार टोखालाई ऐतिहासिक, धार्मिक र साँस्कृतिक नगरको रुपमा बिकास गर्न योजना बनाएर काम अगाडि बढाइएको छ । टोखा नगरपालिकाकामा अबको ५ बर्षमा स्वास्थ्य, रोजगारका कार्यक्रम, प्राबिधिक शिक्षा, जनता सुरक्षा कार्यक्रम, पर्यटन प्रबर्धन, कृषिको आधुनिकीकरण, साँस्कृतिक सम्पदाहरुको संरक्षण बाताबरणलाई प्राथमिकतामा राखेको उहाँको भनाई छ ।

५ बर्षमा भए यी काम

टोखा नगरमा मुख्य सडकको कालोपत्रे, ढल निमार्ण, सडक ढलानको कार्य सम्पन्न भएको छ । १३ वटा पार्क निर्माण कार्य अगाडि बढाएकोमा ६ वटा पार्क निर्माणको काम सम्पन्न भएको छ भने बाँकीमा काम भइरहेको छ । २०७४ सालको निर्वाचनमा हिलाम्मे र धुलाम्मे सडकोको कालोपत्रे सम्पन्न भएको छ भने टोल टोल र बस्ती बस्तीहरुमा ढलानको काम सम्पन्न भएको छ । टोखाका आठवटै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निमार्णको काम सम्पन्न भएको छ भने गुणस्तरीय शिक्षाको लागि बिभिन्न कार्य गरेको छ । टोखा नगरपालिकाको सुबिधा समपन्न अत्याधुनिक भवन निमार्ण भैरहेकोछ । सो भवनको करिव ८५ प्रतिशत काम सम्पन्न भएको छ । यसबाट जनताले छिटो छरितो सेवा लिन सक्नेछन ।

नगरबासीलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराउन चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा रुपान्तरण गरिएको छ । वडा नं १ मा अवस्थित झोरको भण्डारेमा उपत्यका खानेपानी लिमिटेडसंगको सहकार्यमा दैनिक ४५ लाख लिटर पानि जम्मा हुने गरी खानेपानी योजनाको काम भइरहेको छ । १२ करोड लगानीमा निमार्ण हुन लागेको सो योजनाले टोखा नगरपालिकाको खानेपानी समस्यालाई केही हदसम्म हल गर्नेछ भने मेलम्चीको पानी पनि टोखाको गेंगबु र धापासीमा पाइप बिछ््रयाउने कार्य सम्पन्न भइसकेको छ ।

यसै अवधीमा काठमाडौंको टोखा नगरपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत स्थित नाछ्यु नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सन् २०१९ को अगष्ट १३ तारिखका दिनभगिनी सम्बन्ध स्थापनाको प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका दुई नगरले विस्तृत समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नाछ्यु नगरपालिकाले कोभिड १९ नियन्त्रणमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराएको थियो । दुई पटक गरी प्रदान गरिएको स्वास्थ समाग्रीमा अक्सीजन मेसिन, माक्स, सेनीटाइजर, थर्मल गनलगायतका उपकरण रहेका छन । भगीनी सम्बन्धका कारण स्वास्थ सामाग्री खरीदमा नगरपालिकाको करिव चार करोड ब्ययभार कम भएको छ ।

टोखा नगरपालिकाले आफ्नो गौरवको योजना अन्तर्गतको मेयर उज्यालो कार्यक्रम शुभारम्भ गरेको छ । मुल सडकमा बत्ति बाल्ने कार्यक्रम अनुरुप टोखा नगरपालिकाले विगत २ वर्षदेखि मेयर उज्यालो कार्यक्रमलाई आफ्नो गौरवको योजनामा राखेर काम अगाडी बढेको छ । जसका कारण टोखाको मुख्य सडक बत्तीले झिलिमिली भएको छ । मेयर उज्यालो कार्यक्रमसँगै मेयर सुरक्षा कार्यक्रम पनि टोखा नगरपालिकाको योजना रहेको बताउँदै ‘मेयर सुरक्षा कार्यक्रम’ अन्तर्गत मुख्य सडक, खोलाका किनार र चोरी लाग्ने स्थानहरुमा नगरपालिकाले सिसि क्यामेरा जडान कार्यलाई पनि प्राथमिकता दिएको हो ।

टोखा नगरपालिकाले ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रममार्फत नगरभित्रका ५० वर्ष माथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन भएको हो । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक र सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार ‘मेयर दिवा खाजा कार्यक्रम’ पनि शुभारम्भ भएको छ ।

नगरपालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराएको छ । नगरपालिकाले नेपाल रेडक्रस तथा बिभिन्न संघ संस्थाहरु सँगको समन्वयमा आफ्ना नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो । रेडक्रस रक्त सञ्चार सेवाले प्रतिपिन्ट रगतको लागि लाग्ने थैला, परिक्षण र सेवा शुल्क गरी ८ सय १० रुपैयाँ शुल्क लिँदै आएको छ । टोखाका विरामीलाई परिचयको आधारमा निशुल्क गरिने र पछि सो रकम बराबरको बिल अनुसार भूक्तानी गर्ने प्रबन्ध मिलाइएको छ । मानिसहरुले निशुल्क दान गरेको रगत बिभिन्न प्रशोधन, ल्याव परिक्षण बापतको शुल्क बिरामीले तिर्नुपर्ने झन्झटको अत्य टोखा नगरपालिकाले गरेको हो । यस्तै टोखा नगरपालिकाको वडा नं १ झोरबाट उपमेयरसंग बालबालिका कार्यक्रम शुरु गरेको छ ।