काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संघीय सरकारका दुई मन्त्री, एक राज्यमन्त्री र एक मुख्यमन्त्रीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । आज बसेको सचिवालय बैठकले संघीय सरकारका मन्त्री र मुख्यमन्त्रीलाई जिल्ला इञ्चार्ज र सहइञ्चार्ज बनाएको हो ।
संघीय सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा काभ्रे जिल्लाको इन्चार्ज तोकिनुभएको छ । नेकपा केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री बास्कोटा यसअघि इन्चार्जको भूमिकामा रहनुभएको थिएन । काभ्रेमा केन्द्रीय सदस्य इश्वरी रिजाल इञ्चार्ज हुनुभएको थियो । त्यस्तै भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई स्याङ्जा जिल्लाको इन्चार्ज बनाइएको छ । उहाँ साबिक एमालेमा पनि जिल्ला इन्चार्ज हुनुहुन्थ्यो । कांग्रेसका हेभिवेट नेतालाई पराजित गर्नुभएकी अर्याल सो जिल्लाको अध्यक्षको रुपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज बन्नुभएको छ ।
नेकपाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्ला इन्चार्ज बनाएको छ । प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलबाहेक केन्द्रीय सदस्य रहेका सबै मन्त्रीले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पाएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल धादिङको इन्चार्ज बन्नुभएको छ भने अर्थमन्त्री कैलाश ढुंगेल रामेछापको सहइन्चार्ज तोकिनुभएको छ । जमरकट्टेल धादिङकै जिल्ला सचिवसमेत हुनुहुन्छ । त्यस्तै पर्यटनमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल सिन्धुपाल्चोकको सहइन्चार्ज बन्नुभएको छ ।
यस्तै प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्वो पाँचथर र जगदिश कुसियत सुनसरीको सहइन्चार्ज तोकिनुभएको छ । यस्तै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हरिवहादुर चुमान तनहुँ र भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत मनाङको इन्चार्ज बन्नुभएको छ । यसैगरी प्रदेश ५ का भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी पश्चिम नवलपरासीको इन्चार्ज तोकिनुभएको छ भने कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारी जुम्लाको सहइन्चार्ज बन्नुभएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाश शाह बाजुराको सहइन्चार्ज तोकिनुभएको छ ।
जिल्ला कमिटी सरहको मान्यता पाएका महानगर कमिटीमध्ये केन्द्रीय सदस्य रहेका मेयरलाई महानगर इन्चार्जकै जिम्मा दिइएको छ । यस्तो जिम्मेवारी पाउनेमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी र भरतपुरकी रेणु दाहाल हुनुहुन्छ । यसअघि साबिक जिल्ला कमिटीका अध्यक्षहरुलाई नै एकीकृत पार्टीका अध्यक्ष र सचिव बनाउने क्रममा जिल्ला सचिव बनेका केही नेता अहिले पुनः जिल्ला इन्चार्ज र सहइन्चार्ज बन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्