जनता टाइम्स

८ श्रावण २०७९, आईतवार ०८:३३

सन्धिखर्क साना सहरी खानेपानीको अध्यक्षमा रायमाझी निर्वाचित


हरिप्रसाद भुसाल, अर्घाखाँची । सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मूल संस्थाको अध्यक्षमा एमालेका नेता रामबहादुर रायमाझी निर्वाचित हुनुभएको छ ।

शनिवार राति सम्पन्न निर्वाचनबाट राजेन्द्रकुमार कक्षपती श्रेष्ठलाई २४९ मतले हराउँदै रायमाझी अध्यक्षमा निर्वाचित हुनुभएको हो । शुक्रबारबाट सुरु भएको अधिवेशनमा उद्घाटन सत्र जारी रहँदै जिल्लामा क्रियाशिल ५ राजनीतिक दलले पदाधिकारी तथा सदस्य बाँडफाँड गरेपछि असन्तुष्ट भई श्रेष्ठ स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । तर, दलीय प्यानलले जित हात पारेको हो ।

१८ सय मतदाता रहेको खानेपानी समितिमा ६०० अर्थात एक तिहाई मतमात्र खसेको थियो । खसेको मतमध्ये अध्यक्षका लागि ५६५ मत सदर भएकोमा रायमाझीले ४०७ मत प्राप्त गर्नुभयो । श्रेष्ठले १५८ मत प्राप्त गर्नुभएको छ ।

सहसचिव एमालेकी बसन्ता सन्दिप पौडेलले ३८९ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी नेतृ सुमित्रा मुखियाले १५२ मत प्राप्त गर्नुभएको छ । खुल्ला सदस्य, महिला सदस्य तथा लेखा समिति संयोजकमा समेत दलीय उम्मेदवार निर्वाचित भएका छन ।