काठमाडौं, साउन १२ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ ।
दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गर्नुभएको छ । माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको उजुरीमा उल्लेख छ ।
फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उहाँविरुद्ध पनि कारवाही माग गरिएको छ । गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुर्ब्यवहार गरेको भन्दै थप्पड हान्नुभएको थियो ।
यो प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । फिल्म र बौद्ध समुदायबीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति पनि भएको थियो । मिरुना ‘कबड्डी ४’ की अभिनेत्री र ठकुरी फिल्म प्राविधिकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
दुर्ब्यवहारबारे यस्तो थियो मिरुनाको भनाई
हलमा धेरै नै भीड थियो । भीडमा छुने त भइहाल्छ नै । तर, त्यहाँ म फ्यानहरुसँग अगाडि फर्किएर सेल्फी खिचिरहेको थिएँ । त्यसबेला मलाई पछाडि कसैले छोएको महसुस भयो । म झस्किएँ र अलिकता अगाडि सरेँ । दोस्रो चोटी पनि यस्तै भयो । तेस्रो पटक चाहिँ मलाई कसैले ‘दुर्व्यवहार’ नै गरेको महसुस भएपछि मैले थप्पड हानेको हुँ ।
ती व्यक्तिलाई भिक्षुको भेषमा देखेपछि मलाई झनै रिस उठ्यो । किनकि, म पनि बुद्धिष्ट हो । हेर्दा मभन्दा उमेरले सानो लागेपछि सबैको अगाडि कराएँ पनि । त्यसबेला मैले कलाकारको रुपमा नभइ मानव भएको हिसाबले आफूमाथि भएको ‘दुर्व्यवहार’को प्रतिवाद गरेँ । उसले मसँग माफी पनि माग्यो । मैले उसलाई छाड्न पनि खोजेको थिएँ । तर, पछि म आफैंलाई लाज लाग्यो । किनकि, त्यहाँ सबैले भिडियो रेकर्ड गर्नुभएको थियो । बाहिर निस्किएर म रोएँ पनि । आफैंलाई कमजोर महसुस गरेँ । त्यो व्यक्ति हाँसीखुशी बाहिर रमाइरहेको देखेपछि मेरो चित्त बुझेन र मैले कानुनको सहायता लिनुपर्छ भन्ने लागेर प्रहरीको जिम्मा लगाएँ ।
अहिले मेरोबारेमा विभिन्न खाले टिका-टिप्पणी भइरहेका छन् । मेरो चरित्रमाथि समेत प्रश्न उठाइएको छ । भिडियोमा सानो क्लिप्स हेरेको भरमा मलाई गालीगलौज गरिएको छ । भिडियोमा मैले उहाँ भिक्षुलाई कराइरहेको मात्र देखिएको छ, त्यसैले ममाथि गालीगलौज भएको होला । मलाई थ्रेट पनि आएको छ ।
यो केश कानुनी रुपमा अगाडि बढोस् भन्दा पनि यो घटनाबाट उस (बौद्ध भिक्षु) ले लेसन सिकोस् भन्ने लाग्छ । यस्तो घटना कसैमाथि नदोहोरियोस् र उसले पनि भोलीका दिनमा यस्तो कसैलाई नगरोस् । भिडियोमा आधी कुरा मात्र हेरेर एकतर्फी धारणा बनाउनु राम्रो होइन । जतिले पनि मलाई गाली गरिरहनुभएको छ, तपाईंहरुको दिदी-बहिनीलाई यस्तो भएको अवस्थामा आवाज उठाउनु पर्छ भनेर सिकाउनुहोला ।
प्रतिक्रिया दिनुहोस्