जनता टाइम्स

१४ भाद्र २०७९, मंगलवार १७:१५

को हुन् मुक्तदा अल–सद्र ? राजनीति छोड्ने घोषणाले इराकमा बबाल


एजेन्सी, १४ भदौ । इराकमा राजनीतिक अस्थिरताको लामो इतिहास छ। तर सोमबार शिया धर्मगुरु मुक्तदा अल–सद्रले राजनीति छोड्ने घोषणा गरेपछि इराकमा गृहयुद्धको जस्तै स्थिति बनेको छ।

अल–सद्रका समर्थकहरू सडकमा उत्रिएर राजधानीको ग्रीन जोनमा आक्रमण गरेका छन्। ग्रीन जोनमा रातभरीमा करिब सात पटक गोली चलेको छ । यसमा अल–सद्रका करिब १५ समर्थक मारिएका छन् । यसअघि जुलाईमा पनि उनका समर्थक संसदमा प्रवेश गरेका थिए । यस्तो अवस्थामा प्रश्न उठ्छ, को हुन् मुक्तादा अल–सद्र, जसको एक इशाराले इराकमा आगो लागेको छ ।

मुक्तदा अल–सद्र एक शिया धर्मगुरु हुन्। उनी इराकका शक्तिशाली नेतामध्ये एक हुन् । अक्टोबर २०२१ मा भएको चुनावमा उनको पार्टी सबैभन्दा ठूलो दलका रूपमा विजयी भयो। तर, सरकार गठनका लागि आवश्यक बहुमत भने पाउन सकेनन् ।

सदरका बुबा मोहम्मद सादिक र ससुरा मोहम्मद बाकिर पनि इराकका प्रभावशाली धार्मिक नेता थिए। दुवै सद्दाम हुसेन द्वारा मारिए। सदरको कुरा गर्दा उनी शिया भए पनि इराकमा इरानको हस्तक्षेपको विरुद्धमा छन् ।

अमेरिकाको विरोधि हुन् अल सद्र
अल सदर आफ्नो बुबाको विचारधाराबाट प्रभावित छन् । सन् २००३ मा सद्दाम हुसेनको मृत्यु भएपछि उनी चर्चामा आए । उनले हजारौं मानिसहरूलाई सँगै लिएर अल सद्रिस्ट आन्दोलन सुरु गरे। यस आन्दोलनमा एक सैन्य शाखा पनि थियो, जसको नाम जैश अल–मेहदी वा मेहदीको सेना थियो, पछि यसलाई सराया अल–सलाम वा शान्ति ब्रिगेडमा परिवर्तन गरियो ।

अल–सद्र इरानको समर्थक होइनन् तर यसको मतलब यो होइन कि उनी अमेरिकालाई मन पराउँछन्। सन् २००३ मा एक टिभी अन्तर्वार्तामा उनले भने, ‘सद्दाम सानो सर्प थिए तर अमेरिका ठूलो सर्प हो ।’

अल सदर उदारवादको विरुद्धमा छन्
उनी इराकी समाजमा उदारवादी विचारधाराको विरुद्धमा छन्। उनले समलिङ्गी र पुरुष र महिलाको मिश्रणको निन्दा गर्दै आएका छन्। २०१८ मा सद्रले नयाँ गठबन्धन गठन गरे र इराकको पहिलो संसदीय चुनावमा ५४ सीट जिते ।

इस्लामिक स्टेटको पराजयपछि यो निर्वाचन भएको थियो । उनले नयाँ इराकी सरकार गठनमा अमेरिकी हस्तक्षेपलाई अस्वीकार गर्दै उसलाई आक्रमणकारी भनेका छन् । आन्तरिक कलहले त्रसित भएको देशमा सदरले फेरि आफूलाई परिवर्तन गरे । यस पटक उनले आफूलाई इराकी राष्ट्रवादीको रूपमा स्थापित गरे। उनले इराकमा इरानको प्रभावको आलोचना गरे।

ड्रोन आक्रमणमा मुस्किलले बाँचे
डिसेम्बर २०१९ मा राजधानी बगदादमा सदरको घरमा ड्रोन आक्रमण भएको थियो। यद्यपि, अल सदरलाई भाग्यले साथ दिएको मान्नु पर्छ, किनकि उनी घरमा उपस्थित थिएनन्।

यस आक्रमणमा घरमा क्षति पुगेको थियो तर कोही पनि घाइते भएनन् । सन् २०२० मा कासिम सुलेमानीमाथि अमेरिकी ड्रोन हमलापछि अल–सद्रले अमेरिकासँगको सुरक्षा सम्झौता तत्काल रद्द गर्न, अमेरिकी दूतावास बन्द गर्ने र इराकबाट अमेरिकी सेना फिर्ता गर्न आह्वान गरेका थिए ।

इरान र अमेरिकालाई धम्की
सन् २०२० मा सद्रले इरान र अमेरिका दुवैलाई आफ्नो झगडामा इराकलाई समावेश नगर्न चेतावनी दिएका थिए। उनले इरान र अमेरिकाबीचको द्वन्द्वमा सबैभन्दा बढी प्रभाव इराकमा परेको बताए । उनले यो झगडामा इराक र इराकी जनताले आफ्नो नोक्सान नगर्ने बताएका थिए । अब मुक्तदा अल सद्रले राजनीति छोड्ने घोषणा गरेपछि उनका समर्थकहरू आक्रोशित भएका छन् ।

उनका अनुयायी आज्ञापालक छन्
अल सद्रका अनुयायीहरूले उनले भनेका सबै कुरा विश्वास गर्छन् । यसको उदाहरण यस वर्षको जुलाईमा देखियो जब उनका समर्थकहरू संसदमा प्रवेश गरे। अल सदरले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई सुरक्षित रूपमा घर फर्कन आग्रह गरेपछि प्रदर्शनकारीहरूले संसद भवनबाट निस्केका थिए।

भीड जम्मा गर्न क्षमता र भूगोलमा जोडिएका समर्थकहरू भएकाले अल–सद्र आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूमाथि चुनौती बन्ने गरेका छन् ।