जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार २१:३०

संघीय समानुपातिक सांसदको उम्मेदवारमा बस्नेत र शर्मा सिफारीस


काठमाडौं, २२ भदौ । प्रेस चौतारी नेपालले संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र सल्लाहकार निर्मला शर्मालाई संघीय समानुपातिक सांसदको उम्मेदवारमा सिफारिस गरेको छ ।

प्रेस चौतारी नेपालको बैठकले दुवै जनाको नाम आगामी मंसिरमा ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सिफारिस गरिएको हो । विगत लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशिल बस्नेत जनता टाइम्स डटकमका अध्यक्ष समेत हुनुहुन्छ । छलफल साप्ताहिकबाट पत्रकारिताको यात्रा सुरु गर्नुभएका बस्नेतले दैनिक, टेलिभिजन र रेडियोमा समेत काम गरिसक्नु भएको छ ।

स्पेसटाइम दैनिक, च्यानल नेपाल टेलिभिजन, राजधानी दैनिक र सौर्य दैनिकलगायतका संस्थामा बस्नेतले काम गर्नुभएको हो । उहाँ २०७३ सालदेखि प्रेस चौतारीको अध्यक्ष हुनुहुन्छ । पहिलोपटक २०७३ जेठमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन हुनुभएका बस्नेत गत फागुनमा पोखरामा सम्पन्न नवौं महाधिवेशनबाट पुनः सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । यस्तै सञ्चारिका समूहकी पूर्वअध्यक्ष शर्मा पनि तीन दशकदेखि पत्रकारितामा संलग्न हुनुहुन्छ ।