जनता टाइम्स

१ आश्विन २०७९, शनिबार २२:००

माधव नेपाललाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानु हुन्छ ?


काठमाडौं, असोज १ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीले तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान नगरेको टिप्पणी गर्नुभएको छ ।

शाहले एकीकृत समाजवादीका अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गर्नुभएको हो ।

शाहले शनिबार सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री हुँदासमेत आफ्नो निर्वाचन क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्यालाई समाधान नगरेकोले ‘कुन मुख देखाएरु जनतासँग भोट माग्न जानुहुन्छ ? भन्दै प्रश्न गर्नुभएको छ ।

चुनाव आउन अझै २ महिना बाँकी रहेको र सरकार पनि आफ्नै रहेकोले समस्या समाधान गर्न सुझाव दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’