काठमाडौं, साउन १५
बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हिनामिना गर्ने मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उपस्थित भएका छन् ।
अख्तियार र ब्युरोले ललितानिवास जग्गा प्रकरणको अनुसन्धान अघि बढाएपछि फरार रहेका ‘भूमाफिया’द्वय ढकाल र सुवेदी बयानका लागि उपस्थित भएका हुन् । अख्तियार र ब्युरोले बयान लिएर आरोपीलाई बोलाएको बेलामा पुनः उपस्थित हुने सर्तमा छाडेको छ । दुवै निकायले यसविषयमा छानविन गरिरहेका छन् । अख्तियार स्रोतका अनुसार दुवैले तत्कालीन भोगााधिकारी राणा परिवारबाट आफुहरुले कानुनसम्मत जग्गा खरिद गरेको बयान दिएका छन् । अनुसन्धानको प्रगतिबारे खुल्न नचाहेका ब्युरो प्रमुख डिआइजी निरजबहादुर शाहीले सरकारले दिएको समयभित्र जिम्मेवारी पुरा गर्नेगरी काम भईरहेको बताउनु भयो ।
पहिलो चार महिनामा अनुसन्धान नसकिएपछि मन्त्रिपरिषद् बैठकले ललितानिवास जग्गा हिनामिनाको अनुसन्धान प्रतिवेदन तयार पार्न साउन मसान्तसम्म समय थपेको छ । अख्तियारले ढकाल र सुवेदीसहित तीन दर्जन आरोपीसँग बयान लिईसकेको छ । यसअघि बयान लिएका भूमि सुधार कार्यालयका तत्कालिन नायब सुब्बाले भने ‘आत्महत्या’ गरिसकेका छन् । अहिलेसम्म उपस्थित भएर बयान दिएकाले आरोप अस्विकार गर्दै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्