जनता टाइम्स

२४ आश्विन २०७९, सोमबार २०:१०

बाजुरा पहिरोमा परी एकको मृत्यु, प्रहरी चौकी सारियो


बाजुरा, २४ असोज । अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते हुनुभएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीया प्रभुलाल गिरी रहनुभएको छ भने उहाँका आमा घाइते हुनुभएको छ । घाइते गिरीलाई उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पहिरोमा परी गिरीको मृत्यु र उहाँको आमा घाइते भएको जानकारी प्राप्त भए पछि प्रहरी टोलीले घाइतेको उद्दार गरेको थियो । सोही गाउँमा पहिरोमा परी ३ परिवार बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताउनुभयो ।

प्रहरीका अनुसार पछिल्लो समयमा परेको लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाब बढेसँगै सोही गाउँपालिका जुड्डीमा रहेको प्रहरी चौकी जुड्डी खोला र कर्णाली नदीले कटान गर्दा जोखिममा परेको छ। निरन्तर बाढीले प्रहरी चौकी उच्च जोखिममा परे पछि चौकीको टोलीलाई सोही स्थानमा निर्माणाधीन रहेको स्वास्थ्य चौकीको भवनमा सरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।