जनता टाइम्स

२८ आश्विन २०७९, शुक्रबार २१:०४

मिनी बजेटको तीव्र आलोचना : बेलायतकी प्रधानमन्त्रीले डेढ महिनामै हटाइन् अर्थमन्त्री


काठमाडौं, २८ असोज । बेलायती प्रधानमन्त्री लिज ट्रसले सपथ लिएको डेढ महिनामै अर्थमन्त्रीलाई पदबाट वर्खास्त गर्नुभएको छ । ट्रसले शुक्रबार अर्थमन्त्री क्वासी क्वार्टेङलाई बर्खास्त गरेको बेलायती प्रसारण संस्था बिबिसीले उल्लेख गरेको छ।४७ वर्षीय क्वार्टेङले केही समयअघि भएको सत्तारूढ कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि ट्रसलाई समर्थन गर्नुभएको थियो ।

ट्रसलाई जिताउन पनि उहाँले भूमिका खेल्नुभएको थियो । अर्थमन्त्री बनेपछि गत सेप्टेम्बर २३ मा उहाँले मिनी बजेट ल्याउनुभएको थियो । उक्त मिनी बजेटमा ४५ अर्ब पाउन्ड कर छुट दिने प्रतिवद्धता व्यक्त गरिएको थियो। बजेटको उक्त व्यवस्थाले बेलायती अर्थतन्त्रमा समस्या पर्ने भन्दै चर्को आलोचना भएको थियो।

मिनी बजेटको तीव्र आलोचना भएपछि ट्रस दबाबमा पर्नुभएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग वार्ता गर्न अमेरिका गएका क्वार्टेङ निर्धारित समयभन्दा पहिला नै बेलायत फर्किनुभएको थियो । मिनी बजेटमा राखिएका व्यवस्थाहरू अब फिर्ता लिने तयारी भइरहेको छ।