जनता टाइम्स

४ कार्तिक २०७९, शुक्रबार १४:१३

दोहोरी गायिका जेरीले डिभोर्स गर्दै


काठमाडौं, ४ कात्तिक । दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ ले डिभोर्स गर्न लाग्नुभएको छ । जेरी उपनामद्धारा चर्चित लोकदोहोरी गायिकाले श्रीमान् शंकर क्षेत्रीसँग डिभोर्स प्रक्रिया अगाडि बढाउनुभएको हो । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि मात्रै विवाह गर्नुभएको थियो । उहाँहरुको एक सन्तानको रुपमा दुई वर्षकी छोरी छिन् । पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नुभएको उहाँहरुको विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन ।

धेरै अगाडिदेखि सम्बन्धमा खटपट आइरहेको उहाँहरु अन्ततः सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुग्नुभएको हो ।
हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा स्ट्याटस लेख्दै उहाँले डिभोर्स केस चलिरहेको जानकारी दिनुभयो । काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीचको डिभोर्स केस चलिरहेको छ । हिजो उहाँहरू दुवै जना मुद्दा टुंग्याउन अदालत पुग्नुभएको थियो । तर, केही कागजात अपुग भएको भन्दै अदालतले अर्को दिन लिएर आउन आग्रह गरेको थियो ।

आइतबार भने अदालत गएर औपचारिकरूपमा अलग हुने बताइएको छ । जेरीले विवाहको करिब ६ महिनापछि नै छोरी जन्माउनुभएको थियो । डिभोर्सपछि छोरी जेरीसँग रहने गरी समझदारी भएको र आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डिभोर्स फाइलमा उल्लेख गरिउको छ । सम्पत्तिको बाँडफाँटको विषय भने प्रष्ट भएको छैन । जेरीको माइती गोरखा हो भने शंकरको घर नेपालगञ्ज हो ।