जनता टाइम्स

२४ कार्तिक २०७९, बिहीबार २०:५४

विनोद चौधरीको चुनाव प्रचारमा गएपछि भुवन केसीलाई आयोगले स्पष्टीकरण सोध्यो


काठमाडौं, २४ कात्तिक । निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ । प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले आज बिहीवार चलचित्र विकास बोर्डका अध्यक्ष केसीलाई स्पष्टीकरण सोधेको हो ।

नवलपरासी क्षेत्र नं। १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको चुनाव प्रचारप्रसारमा सहभागी भएकोबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ । सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान चुनावमा उम्मेदवार रहेका व्यक्तिको प्रचारप्रसार गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा ४४ बमोजिम विभागीय कारबाहीसमेत हुनसक्ने आयोगले जनाएको छ ।

सरकारी पदमा बहाल रहेको व्यक्ति कुनै दलका उम्मेदवारको चुनाव प्रचारप्रसारमा सहभागी हुने काम निर्वाचन आचारसंहिता २०७९ को प्रतिकूल हुने भएको भन्दै आयोगले यस विषयमा स्पष्टीकरण पेस गर्न भनेको छ ।