काठमाडौं, १८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार सेवामा प्रवेश गर्ने कर्मचारीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारले पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा कार्यरत ल्याब टेक्निसियन राम एकवाल यादव उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो ।
उनले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले डिप्लेमा इन सिभिल इन्जिनियरिङको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गामा सब–इन्जिनियरपदमा डोरहाजिरीमा तथा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरक–फरक मितिमा दुई वर्षभन्दा बढी अवधिसम्म कार्यरत रही निजले तलब, भत्ता र अन्य लाभसमेत लिएको अख्तियारको अनुसन्धानबाट देखिएको छ ।
यस्तै, राष्ट्रिय उच्च माध्यमिक विद्यालय कैलाली, खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरीविरुद्ध पनि शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा दायर गरेको छ । चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरिपाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा स्नातक तहको नक्कली ट्रान्सक्रिप्ट, प्रेभिजनल सर्टिफिकेट,क्यारेक्टर सर्टिफिकेटहरु पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भई कार्य गरेको पुष्टि हुन आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्