जनता टाइम्स

३२ असार २०८३, बिहीबार २१:३१

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत


काठमाडौं, असार ३२ । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारहरूलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरेको छ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसका आधारमा प्रदेशका १३ वटै प्रादेशिक अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा छुट उपलब्ध गराइने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त निर्णय कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले सबै प्रादेशिक अस्पताललाई आवश्यक निर्देशनसमेत दिइसकेको छ। पत्रकारहरूको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको मन्त्री थापाले बताउनुभयो।

निर्णयअनुसार श्रमजीवी पत्रकारहरूले अन्तरङ्ग (वार्ड) सेवामा क्याबिनबाहेक शतप्रतिशत छुट पाउनेछन्। त्यस्तै, आइसियू सेवामा ५० प्रतिशत, शल्यक्रिया सेवामा (क्याबिनबाहेक) ५० प्रतिशत तथा प्रयोगशाला सेवामा पनि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

यसैगरी, एक्स–रे, सिटी स्क्यान, एमआरआई तथा भिडियो एक्स–रे सेवामा ५० प्रतिशत छुट उपलब्ध हुनेछ भने प्रसूति सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिने मन्त्रालयले जनाएको छ। साथै, पत्रकारहरूले वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ। आकस्मिक उपचार सेवा भने सरकारले तोकेको विद्यमान मापदण्डअनुसार उपलब्ध हुने जनाइएको छ।

स्वास्थ्य मन्त्रालयले यसअघि अति गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसापीडित, विपद् तथा प्राकृतिक प्रकोपबाट प्रभावित, गरिब तथा विपन्न आकस्मिक बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी–जनजातिलगायतका वर्गलाई प्रदान गर्दै आएको स्वास्थ्य सहुलियतलाई निरन्तरता दिएको छ। अब सोही सूचीमा श्रमजीवी पत्रकारहरूलाई पनि समावेश गरिएको हो।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरले प्रदेश सरकारको यस निर्णयले सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले महासंघको सिफारिसका आधारमा सेवा उपलब्ध गराइने भएकाले वास्तविक रूपमा सक्रिय श्रमजीवी पत्रकारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो।