काठमाडौं, साउन २४ । रामेछापको लिखु– तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द खडकालाई २ करोड रुपैया माग्दै ज्यान मार्ने धम्की दिने मिलन तामङले रामेछापमा लाखौं रुपैयाँ असुल्ने गरेको तथ्य खुलेको छ । घुँडामुनी गोली हानी पक्राउ गरिएपछि प्रारम्भिक अनुसन्धानमै तामाङले असुली धन्दालाई तीब्र बनाएको तथ्य प्रहरीले फेला पारेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले आज तामाङलाई स्वयम्भूबाट पक्राउ गरी बीर अस्पतालको ट्रमा सेन्टरमा उपचारार्थ भर्ना गरेको थियो । तामाङले लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्काका अनुसार उनले एक महिनादेखि धम्की दिन थालेका थिए । ‘चिन्दै नचिनेका तामाङले दुई करोड माग्दै रातदिन फोनमा दुखः दिन थालेका थिए,’ खडकाले जनताटाइम्ससँग भन्नुभयो, ‘मैले चिनेको मान्छे हैन, एकैचोटी फोन आउन थाल्यो, दुई करोड नदिए कहिले छोरा त कहिले छोरी मार्छु भन्दै फोन आइरहन थाल्यो ।’
लिखु–तामाकोशी गाउँपालिका वडा नम्बर ३ मा स्थायी बसोबास गर्दै आउनुभएका अध्यक्ष खडकाले मिलनकै धम्कीका कारण घरमा बस्न नसक्ने अवस्था आई प्रहरीमा खबर गर्नुभएको थियो । खडकाको उजुरीपछि फोन ट्रयाक गर्दै आएको प्रहरीले आज पक्राउ गर्न दुई गोली चलाएको हो । दुबै घुँडामा गोली हानेर तामाङलाई महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो ।
तामाङ रामेछाप मन्थली नगरपालिका वडा नम्बर ११ निवासी हुन । प्रहरीका अनुसार उनी धम्क्याउँदै लुटपाट मच्चाउँदै आएका व्यक्ति हुन । असुलीलाई आफ्नो पेशा बनाएका गुण्डा नाइके तामाङले खडकालाई पनि कहिले रामेछाप त कहिले काठमाडौंबाट धम्क्याउँदै पैसा मागिरहेका थिए ।
‘उसको मोबाइल कल ट्रयाक गर्दै जाँदा आज स्वयम्भूतिर लोकेसन देखियो, हाम्रो टोली त्यतैतिर मुभ भयो,’ घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले भन्नुभयो । एसएसपी थापाका अनुसार प्रहरी टोलीले बिजेश्वरी हाउजिङको एउटा क्याफेमा तामाङलाई भेट्टायो । पक्राउ गर्न खोज्दा तामाङ भाग्न खोजेपछि गोली चलाइएको हो ।
महाशाखाका अनुसार रामेछाप आधारक्षेत्र बनाएर उनले धम्क्याउँदै असुली धन्दा चलाइरहेका थिए । उनले लिखु हाइड्रेपावरबाट २० लाख र स्थानीय सडक ठेकेदारबाट ३० लाख रुपैयाँ रकम धम्क्याएर असुलेको प्रहरीले जनाएको छ । प्रहरीले तामाङको असुली धन्दाको बिषयमा बिस्तृत अनुसन्धान अघि बढाएको छ । उता अध्यक्ष खडकाले वडाध्यक्षले नै आफ्नो हत्या योजना बनाएको दावी गर्नुभएको छ । तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेलगत्तै जनताटाइम्स डटकमसँग अध्यक्ष खडकाले आफ्नै गाउँपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष सुवाश बोहोराले यस्तो योजना बनाएर आफूलाई ज्यान मार्न खोजेको दावी गर्नुभयो ।
‘दुई करोड मागेर धम्क्याउने मात्रै होइन, मलाई मार्न नै खाजेका हुन, धन्न ज्यान बच्यो, मलाई मार्ने र चन्दा माग्ने यो घटनाको मुख्य योजनाकार मेरै गाउँपालिका ७ का वडाध्यक्ष सुवाश बोहोरा हुन, उनैले यो काम गराएका हुन,’ घटनालगत्तै अध्यक्ष खडकाले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार तामाङ एक मोहोरा हुन, मुख्य योजनाकार वडाध्यक्ष बोहोरा नै हुन । अध्यक्ष खडकाको भनाई छ ।
वडाअध्यक्ष बोहोराले भने खडकाको भनाईको प्रतिवाद गर्नुभएको छ । आफू यस्तो कुरा सोच्नसमेत नसक्ने बोहोराको भनाई छ । रामेछाप नेकपाका नेताहरुले पनि दुई जनाबीच गाउँपालिकामा बिवाद भएपनि बोहोरा राजनीतिक चरित्रको भएकोले यस्तो आरोप गलत रहेको जिकिर गरेका छन । ‘सुवास बोहोरा उहाँले आरोप लगाएको जस्तो ब्यक्ति होइन, अध्यक्षले बिगतको गाउँपालिकाको बिवादलाई लिएर अपराधमा नाम मुछने काम गर्नुभयो, यो सरासर गलत छ,’ नेकपा रामेछापका नेता प्रकाश कार्कीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्