जनता टाइम्स

१ पुष २०७९, शुक्रबार २२:१४

सर्वदलीय बैठक बोलाउने संघीय संसदका महासचिवको तयारी


काठमाडौं, १ पुस । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सर्वदलीय बैठक बोलाउने तयारी गर्नूभएको छ । प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको टुंगो लागिसकेको छ ।

तर, निर्वाचन आयोगले समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र पुस ३ गते दिने तय गरेको छ ।प्रत्यक्ष र समानुपातिकतर्फका सांसदले निर्वाचित भएको प्रमाणपत्र पाइसके लगत्तै सर्वदलीय बैठक बोलाउने तयारी संसदका महासचिव गौत्तमको छ । उहाँका अनुसार निर्वाचन आयोगले निर्वाचित सांसदहरुको लिष्ट संसद सचिवालयलाई पनि पठाएको छ । अब निर्वाचित सांसदहरुमध्ये जेष्ठ सदस्य तय गरेर संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पत्र लेख्नुपर्छ ।

संसद सचिवालयको पत्रअनुसार राष्ट्रपतिले जेष्ठ सदस्यलाई शपथ खुवाउनेछन् । राष्ट्रपतिबाट शपथ खाएका जेष्ठ सदस्यले बाँकी २७४ प्रतिनिधिसभा सदस्यहरुलाई शपथ खुवाउँछन् ।शपथको तयारी लगायतका सन्दर्भमा छलफल गर्न संसदका महासचिव गौत्तमले सर्वदलीय बैठक बोलाउने तयारी गर्नूभएको हो । दलहरुको सहमतिका आधारमा शपथको मिति तय गरिने महासचिव गौत्तमले बताउनुभयो । प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व छ ।

राष्ट्रिय दलका रुपमा कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टी छन् ।थ्रेस होल्ड कटाउन नसकेका एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) लोकतान्त्रिक समाजवादी पार्टी , राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको पनि प्रतिनिधिसभामा प्रतिनिधित्व छ ।