काठमाडौं, १३ पुस । नवनिर्वाचित सांसद्हरूलाई अपांगता भएका व्यक्तिहरूले गर्नुभयो ‘नवगठित संसदमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व खोइ ?’ अर्थात ‘हाम्रो राजनितिक अधिकार खोइ ?’ राजधानी, काठमाडौंमा नेत्रहिन युवा संघ नेपालद्वारा बुधबार आयोजित एक कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको राजनीतिक अधिकार हरण भएको भन्दै सो प्रश्न गर्नुभएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र जनमत पार्टी लगायतका २६ जना सांसद्हरूको उपस्थिति थियो । कार्यक्रममा सबै दलहरूलाई अपांगता भएका व्यक्तिहरूको राजनीतिक सहभागिताका लागि निर्णायक भूमिका खेल्न आग्रह गरिएको थियो ।
राजनीतिक दलका प्रतिनिधिहरूले संविधानमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सुनिश्चितता गरेको भए पनि केही प्राविधिक समस्याका कारण समेट्न नसकिएको जानकारी दिनुभयो । आगामी दिनमा ‘वा अथवा, तर जस्ता शब्दहरूका कारण परेको यो समस्यालाई नीतिगतरूपमा नै हटाउन व्यवस्था गरी अनिवार्य रूपमा अपांगता भएका व्यक्तिहरूलाई समेट्ने’ प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनितिक दलका भातृ तथा सुवेच्छुक संघसंस्थाका प्रतिनिधि तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागिहरूले देशमा सम्पन्न तिनै तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको भए पनि विद्यमान कानुनी केही प्रावधानहरूका कारण सबै अपाङ्गता भएका व्यक्तिहरूले निर्वाचन प्रक्रियामा भाग लिन नपाएको औंल्याइएको थियो ।
सिमित कानुनी प्रावधान अर्थात अपाङ्गतामैत्री कानुनी व्यवस्था नहुँदा अझ अपाङ्गता भएका व्यक्तिहरू सक्रिय नहुँदाको कारणले उहाँहरूको सहभागिता हुन नसकेको बताइएको थियो । दृष्टिविहीनहरूको हकमा आफ्नो इच्छाइएको व्यक्तिलाई मतदान सहयोगीको रूपमा राख्न नपाउँदा आफ्नो अधिकारको सदुपयोग गर्न नसकेको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्