जनता टाइम्स

२४ पुष २०७९, आईतवार १७:२५

प्राडा बरालको अध्यक्षतामा गोसोनको नयाँ कार्यसमिति चयन


काठमाडौँ, २४ पुस । नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)को अध्यक्षमा प्राडा गेहनाथ बराल निर्विरोध निर्वाचित हुनुभएको छ । होटल र्‍याडिसनमा शनिबार भएको गोसोनको निर्वाचनबाट प्राडा बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

निर्वाचन अधिकृत प्राडा कल्पना उपाध्याय सुवेदीकाअनुसार उपाध्यक्षमा डा जितेन्द्र परियार, सचिवमा प्राडा गणेश दंगाल, कोषाध्यक्षमा डा स्निग्धा राई, सहसचिवमा डा विनोद अर्याल र बैकल्पिक सचिवमा डा अनु बज्राचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै कार्यसमितिमा निवर्तमान अध्यक्ष डा शीला बर्मा, पदेन सदस्य, डा ऋजुता जोशी, डा कीर्तिपाल सुवेदी, डा कविन भट्टचन र डा रमेश श्रेष्ठ सदस्यमा निर्वाचित हुनुभएको छ।

यो कार्यसमितिको पदावधी दुई वर्षको हुने बताइएको छ ।

यसैबीच गोसोनका शनिबार दोस्रो दुई बार्षिय बैज्ञानिक सम्मेलन पनि सम्पन्न भएको छ । ‘गाइनोकोलोजिकल क्यान्सर केयर ब्रिजिङ द ग्याप इन लो रिसोर्स सेटिङ्ग’ नारा दिइएको सो सम्मेलनमा महिलाको प्रजनन अंगका विभिन्न प्रकारका क्यान्सरहरु जस्तै पाठेघर, पाठेघरको मुखको क्यान्सर, डिम्बासयको क्यान्सर, योनिमार्गको क्यान्सर लगायतकाको निदान, रोकथाम, स्क्रिनिङ्ग, तथा अनुसन्धान सम्वन्धि छलफल गरिएको थियो ।

सम्मेलनमा उत्कृष्ठ कार्यपत्र प्रस्तोता दुई जनालाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा समाजका सल्लाहकारद्वय डा विष्णुदत्त पौडेल र प्रभुराज बैद्य, संस्थापक अध्यक्ष डा अचला बैद्य साथै नेपाल प्रसूति तथा स्त्री रोग समाज नेसोगको तर्फबाट पूर्व अध्यक्ष समेत रहेकी प्रतिनिधि सभा सदस्य डा चन्दा कार्कीलाई अभिनन्दन गरिएको थियो ।

करीव १५० जना चिकित्सकहरुको सहभागिता रहेको सो सम्मेलनमा ४० भन्दा बढी कार्यपत्र प्रस्तुत भएको थियो ।