विराटनगर, पुस २९ । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि आज सरकारमा थप ३ बिनाविभागीय मन्त्रीलाई सहभागी गराउनु भएको हो । कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ।
सरकारमा सहभागी भएका मन्त्रीले यसअघि नियुक्त भएका मन्त्रीहरु झैं तत्काल कुनै विभागीय मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । मन्त्रालयको भागबण्डा नमिलेका कारण शुक्रबार नियुक्त भएका मन्त्रीहरुलाई पनि तत्काल कुनै विभागीय जिम्मेवारी प्रदान नगरिने मुख्यमन्त्री कार्कीले बताउनु भयो ।
मन्त्रिपरिषद विस्तारको क्रममा शुक्रबार नेकपा माओवादी केन्द्रबाट २ र एमालेबाट १ जना मन्त्री बनेका हुन् । नेकपा एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी र माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापाँगाई तथा मोरङका जीवन आचार्य सरकारमा सहभागी हुनुभएको छ ।
आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाई हुन् । यसअघि पौष २५ गते मुख्यमन्त्रीसँगै ३ जना मन्त्रीले प्रदेश सरकारको मन्त्रीको रुपमा शपथ लिएका थिए ।
नेकपा एमालेका तिलकुमार मेन्याङ्बो,राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बु सरकारमा सहभागी हुनुभएको थियो । आज नयाँ मन्त्रीहरुको नियुक्तिसँगै प्रदेश १ सरकारको मन्त्रिपरिषद ७ सदस्यीय बनेको छ ।













प्रतिक्रिया दिनुहोस्