जनता टाइम्स

८ माघ २०७९, आईतवार १५:०६

दुई नेपाली युवकको शव भारतमा फेला


जनकपुरधाम, ८ माघ । भारतको सीतामढीको बेला थानास्थित पर्सामा दुई नेपाली युवकको शव फेला परेको छ । उनीहरु जनकपुरधामका रहेका खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साहको शव भेटिएको हो ।

उनीहरु एकै परिवारका रहेका खुलेको छ । खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवलाई परिवारका सदस्यले पहिचान गरेसँगै मृतक नेपाली रहेका र एकै परिवारका रहेका खुलेको हो ।

दुई साता अघिदेखि सम्पर्कविहीन भएका उनीहरुको शव आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ । दुई साताअघि नै सीतामडीस्थित आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका उनीहरु अपहरणमा परेको भन्दै आफन्तले प्रहरीलाई खबर गरिए पनि उद्धार हुन सकेन ।