काठमाडौं, ९ माघ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरुको विकास हुन नसकेको बताउनुभएको छ ।
आज काठमाडौंको कोटेश्वरस्थित होटल ए वान भेन्यूमा रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा आयोजित खेलकुद पत्रकारिताको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सदस्यसचिव घिसिङले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नसकिने बताउनुभयो ।
समाजका अध्यक्ष दीपेन्द्र गुरुङ्गको अध्यक्षतामा सञ्चालित सो प्रशिक्षण तालिमको उद्घाटन शत्रलाई सम्बोधन गर्ने क्रममा उहाँले माघको तेस्रो हप्तादेखि सुरु गर्ने गरी परिषद्ले एशियन गेम्समा सहभागि हुने २३ गेमको ट्रेनिङको तयारी थालेको जानकारीसमेत दिनुभयो ।
उहाँले राखेपले खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक र आम सहभागिताका रुपमा आफ्ना कार्यहरु अघि सारेको उल्लेख गर्नुभयो। उहाँका अनुसार राज्यले मेहनेती एक खेलाडी बराबर एक करोड रुपैयाँसम्म लगानी गर्नेगरी राखेप अघि बढीरहेको छ। उहाँले राखेपले जनवरीदेखि सेप्टेम्बरसम्म एक खेलाडी बराबर एक करोड रुपैयाँ आवश्यक्ता परे पनि राज्यले लगानी गर्ने निर्णय परिषद्बाट भएको जानकारी दिनुभयो ।
सदस्यसचिव घिसिङले खेलाडी छनौट भनसुनका आधारमा गर्न थाले राष्ट्रले शर्मनाक हार व्यहोर्ने बताउनुभयो । उहाँले अझै पनि नेपाली समाजमा कुनै पदाधिकारीलाई भनेपछि खेलाडी बन्ने र प्रशिक्षक बन्नसक्ने खराब सोच हट्न नसकेको दावी गर्नुभयो ।
उद्घाटन शत्र लगत्तै प्रशिक्षण सुरु भएको थियो । आजको प्रशिक्षणमा खेलकुदमा डिजिटल पत्रकारिता सम्वन्धि विषयमा पत्रकार मनोज सत्यालले सहजिकरण गर्नुभएको थियो । त्यस्तै खेलकुद पत्रकारिताका विषयमा नविन अर्याल र समाजका सल्लाहकारसमेत रहनुभएका मातृका पौडेलले संयुक्तरूपमा सहजिकरण गर्नु भएको थियो । प्रशिक्षण मंगलबार समापन हुने समाजकी उपाध्यक्ष यसिमा महतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्