काठमाडौं, ६ असार । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो १ः४० बजे तिर डोटीको आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा दिपायलबाट मौवातर्फ गइरहेको सुप्रप ०१००१ज १३९५ नम्बरको जिप घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिप सडकबाट २ सय ५० मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिप चालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको ज्यान गएको हो । दुई जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ ।
घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्