जनता टाइम्स

६ असार २०८२, शुक्रबार २०:५८

बिमानस्थल सुन काण्डकी मुख्य अभियुक्त माओवादी नेतृ अमला पक्राउ


काठमाडौं, असार ६ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पक्राउ परेको ६१ किलो सुन प्रकरणकी आरोपी अमला रोका पक्राउ परेकी छन् । लामो समयदेखि राजनीतिक आवरणमा सुन तस्करी गर्दै आएकी र प्रहरीले खोजी गरेपछि फरार रहेकी अमलालाई शुक्रवार पक्राउ गरेको हो ।

ठमेलमा होटल भियना चलाएर बसेकी अमला र उनका पति दावा छिरिङ सुन तस्करीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । दावा पक्राउ परेर अहिले कानुनी कारबाहीका क्रममा कारागारमा छन् । अमला भने फरार रहेकी थिइन् ।

नेकपा माओवादी केन्द्र रोल्पाकी नेतृसमेत रहेकी अमलाले माओवादीका शीर्ष नेताकै संरक्षणमा तस्करीको धन्दा सञ्चालन गर्दै आएको तथ्य यसअघि नै खुलिसकेको छ ।अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् ।

उनको पूर्वउपराट्रपति तथा माओवादी उपाध्यक्ष नन्दबहादुर पुन र पूर्वअर्थमन्त्री बर्षमान पुनसँग पारिवारिक सम्बन्ध रहेको तथ्य खुलिसकेको छ । बेल्जियम नागरिक दावाले उनीसँग विवाह गरेपछि ठमेलमा होटल सञ्चालन गरेकी थिइन। उक्त होटल अमलाकै नाममा दर्ता छ । सोही होटलको आडमा उनले तस्करी गरेको प्रहरीको निश्कर्ष छ ।

सुन काण्डअघि त्यहाँ उच्च प्रहरी अधिकारीको पनि आवतजावत हुने गरेको प्रहरीकै अनुसन्धानबाट खुलेको थियो । प्रहरीले उनका विरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो। उनी विदेशतिर भागेको आशंका गरिए पनि टोखामा फ्ल्याट लिएर बन्दोबस्तीका साथ बसिरहेको अवस्थामा प्रहरीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले दिउँसो नियन्त्रणमा लिएको हो ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०८० साउन २ गते ६१ किलो सुन बरामद भएको थियो । भन्सार राजश्व जाँच पास गरी बाहिरिएपछि उक्त सुन तस्करीको भन्ने खुलेको थियो । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट अमला र उनका पति दावा छिरिङको संलग्नता खुलेको थियो । पछि प्रहरीले पूरक अनुसन्धान गरेको हो ।

सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार रहेका थिए । जसमा अमलाको नाम पनि थियो ।अमलालाई माओवादीकै नेताहरुले संरक्षण गरी जोगाउँदै आएका थिए ।