जनता टाइम्स

६ असार २०८२, शुक्रबार २३:३५

पत्रकार महासंघकाे तेस्राे बैठक :  प्रेस स्वतन्त्रताका पक्षमा एकताबद्ध भएर लाग्ने प्रतिबद्धता


पोखरा, ६ असार । नेपाल पत्रकार महांघको केन्द्रीय समितिको तेस्रो बैठक शुक्रबार साँझ पोखरामा सम्पन्न भएको छ ।

बैठकले प्रेस स्वतन्त्रता माथि आएका सबै खालका आक्रमण विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको छ । महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा भएको बैठकले प्रेस स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध भएर लाग्ने निर्णय गरेको छ ।

पत्रकारितालाई फौज्दारीकरण नगर्न पनि बैठकले आग्रह गरेको छ । श्रमजीवी पत्रकारकारहरूको पारिश्रमिक असार मसान्तसम्म दिन सञ्चारमाध्यमलाई आग्रह गर्दै बैठकले सो अवधिभित्र रकम भुक्तानी नगरे साउन १ गतेबाट आन्दोलनमा जाने निर्णय गरेको छ । यसै गरी संसदमा छलफलमा रहेका विभिन्न विधेयक तथा बन्दै गरेका विधेयकहरूमा गरिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न पनि महासंघले माग गरेको छ ।

महासंघको बैठकले पत्रकारहरूलाई पनि पत्रकार आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराएको छ । बैठकले विभिन्न सञ्चारमाध्यम माथि गरिएको कारबाही फिर्ता गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

यसै गरी सञ्चारमाध्यम र पत्रकारलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन देशव्यापी अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले स्वर्गीय शक्ति लम्सालको नाममा ५ लाख रुपैँयाको कोष स्थापना गरी शक्ति लम्साल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको संस्थाकी अध्यक्ष निर्मला शर्माले जानकारी दिनुभयो । सो कोषका लागि लम्सालका परिवारले रकम उपलब्ध गराएको छ ।

बैठकले संस्थाका महासचिव रामप्रसाद दाहालले प्रस्तुत गर्नुभएको संगठनको प्रतिवेदन सुझाव सहित पास गरेको छ । त्यस्तै अध्यक्ष, महासचिव र कोषाध्यक्षको तीन वर्षे कार्ययोजना प्रभाकारी कार्यान्वयन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा बोल्दै अध्यक्ष शर्माले आफू ३० वर्षदेखि प्रेस स्वतन्त्रताका लागि लड्दै आएको स्मरण गराउँदै प्रेस स्वतन्त्रताको विषयमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । आफ्ना विरुद्ध सामाजिक सञ्जालमा अफवाह नफैलाउन पनि उहाँले आग्रह गर्नुभयो ।