जनता टाइम्स

६ असार २०८२, शुक्रबार २२:४७

‘देश विकास गर्नुपर्छ, देश विकास हुँदैछ, देश विकास गरिने छ’


-केपी शर्मा ओली-

आज खुशीको कुरा हो। यस प्रकारको पहिलो फ्लाइओभर नेपालमै पहिलो पटक निर्माण भएको छ र आज सफलतापूर्वक उद्घाटन भएको छ। अब ग्वार्कोमा सवारी जामलगायतका समस्याहरू समाधान हुने छन् वा अब समाधान भएका छन्।

यस अवसरमा म सबै साथीहरूलाई बधाई र धन्यवाद भन्न चाहन्छु। खासगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलगायत अरू ठेकदार कम्पनीलगायत सम्पूर्ण यसमा योगदान पु¥याउने महानुभावहरू सबैलाई धन्यवाद भन्न चाहन्छु।

अघि ठेकदार कम्पनीको तर्फबाट भन्नुभएझैँ, निर्माणमा केही बिलम्ब पनि भयो, यसमा समझदारी राख्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू सबैप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु र धन्यवाद भन्न चाहन्छु।

नेपालमा यस प्रकारको काम अत्यन्त सफलताका साथ भएको छ। पहिलो अनुभव, पहिलो प्रयास, लगभग समयमै भन्नुपर्छ, सिध्याउनुभएकोमा ठेकदार कम्पनीलाई म विशेष धन्यवाद भन्न चाहन्छु। उहाँहरूलाई हामीले प्रशंसा गरेका छौँ। प्रशंसा उपयुक्त छ भन्ने लाग्छ।

हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ। हिजो मात्रै एउटा समाचार आयो, आज अखबारहरूमा व्यापक महत्वका साथ स्थान पायो। त्यो कुरा दैलेखमा नेपाललाई ५० वर्ष कमसेकम पुग्नेगरीको मिथेन ग्यास पत्ता लाग्यो कि तीनवटा कुवामध्ये एउटाबाट ११२ अर्ब घनमिटर अर्थात् नेपाललाई ५० वर्षसम्म पुग्ने गरी ग्यास रहेको पाइएको छ। यो खुशीको खबर पनि हामीले थाहा पायौँ, जुन कुरा यो फ्लाइओभर सुरु गरेझैँ त्यसको पनि सुरुवात मैले नै गरेको छु।

हामी धौवादी फलाम कारखाना अगाडि बढाउँदैछौँ। धौवादी फलाम कारखाना सम्पन्न हुनेबित्तिकै हामीले नेपाललाई सयौँ वर्षलाई पुग्ने फलाम, स्टिल आदि कारखानाहरू यहाँ स्थापना गर्नेछौँ र प्रशोधन कारखाना स्थापना गर्नेछौँ। त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउने छ।

दैलेखको मिथेन ग्यासको उत्खनन हुनेछ, उत्पादन हुनेछ र त्यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ। विदेशबाट अप्रशोधित खालका अथवा कम प्रशोधित, कम गुणस्तरका चिजहरू हामीले ल्याउनुपर्ने छैन। हामीलाई त्यहाँबाट ठूलो आर्थिक लाभ हुनेछ। धेरैले रोजगारी, धेरैले काम नेपालभित्र पाउनेछन्। यस्तै गरेर अरू कारखानाहरू, अरू खनिजहरूको पनि हामी उद्घाटन गर्नेछौँ। यतापट्टि पनि हामी काम गरिरहेका छौँ।

कृषिको आधुनिकीकरणतर्फ त्यसैगरी व्यापक रूपमा हामी काम गरिरहेका छौँ र कृषिको आधुनिकीकरण भइराखेको छ। देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको छ। यो अर्को पक्ष छ।

उद्योगतर्फ पहिलेभन्दा धेरै उद्योगहरू अहिले स्थापना भएका छन् र अगाडि बढिरहेका छन्। परम्परागत उद्योगहरू कतिपय उद्योगहरू स्वाभाविक रूपमा नचलेका होलान्। ती कतिपय उद्योगहरू आउटडेटेड पनि भए, कतिपय आउटडेटेड नभएका उद्योगहरू चल्दै छन्। म्याग्नेसियम उद्योग, त्यसलाई अहिले फेरि हामी सञ्चालन गर्ने प्रयासमा अगाडि बढिरहेका छौँ। त्यो म्याग्नेसियम उद्योगलाई पनि हामी अगाडि बढाउने छौँ।

बाटाघाटाको सन्दर्भमा भन्ने हो भने हुलाकी राजमार्गले तराईको दक्षिणी मुहार फेर्दै छ, सिङ्गै तराईको मुहार फेर्दैछ। केही केही पुलहरूमा समस्या भएको छ। केही केही निकुञ्जका कारणले बाटो अलिकति तयारी हुन सकेको छैन। त्यो केही समयभित्र तयारी गर्नेछौँ र मेचीदेखि महाकालीसम्मको सिङ्गै तराईको त्यसले कायाकल्प गर्ने छ। ठूलो परिवर्तन ल्याउने छ।

हामीले ठूलाठूला सिंचाइ आयोजनाहरू गरेका छौँ। सुनकोशी–मरिन डाइभर्सन र तराईका विभिन्न जिल्लाहरू, खासगरी पाँचवटा जिल्लामा १ लाख ८५ हजार बिगाहा अथवा १ लाख २२ हजार हेक्टर जमिन सिंचाइ गर्ने र तराईमा एक बाली लाग्ने ठाउँमा तीन बाली लगाउने र उत्पादनलाई डबलभन्दा बढीका दरले वृद्धि गर्ने त्यो काम पनि हामी गर्दैछौँ। अरू त्यस्ता अनेक कामहरू हामी अगाडि बढाइरहेका छौँ।

सामाजिक क्षेत्रमा, शिक्षाको क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा, हामी अस्पतालहरू बनाइरहेका छौँ। अहिले पहिलेको जस्तै अस्पतालहरूको अवस्था छैन। त्यसर्थ, यस स्थितिलाई हामीले सामान्य रूपमा होइन, एउटा देशले गति लिन चाहेको, फड्को मार्न चाहेको अवस्थाका रूपमा बुझिरहेका छौँ र त्यसलाई त्यसरी नै अगाडि बढाइरहेका छौँ।

मदन भण्डारी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्गलगायत र एसियाली स्ट्यान्डरमा पूर्व–पश्चिम राजमार्गलाई विकास गर्ने, चार लेन, छ लेनको हाइवेको रूपमा त्यसलाई विकास गर्ने, यी कामहरू हामी गरिरहेका छौँ।

यसरी हामी बहुआयामिक ढंगले र चौतर्फी ढंगले देशको विकास गरिरहेका छौँ र गर्दै जानेछौँ। म सबै दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु—एउटा क्षेत्रमा मात्र हैन, अनेक क्षेत्रमा त्यसो गर्दैछौँ, विकास गर्दैछौँ।

यो चक्रपथ विस्तार गर्ने कुरा, यसको दोस्रो फेजमा कलंकीदेखि महाराजगञ्जसम्मको दोस्रो फेजलाई विस्तार गर्ने कुरामा, त्यस्तै फ्लाइओभर अरू ठाउँमा, ओभरपास वा अन्डरपास, दुईवटै प्रकारका तरिकाहरूबाट हामी ट्राफिक जामलाई अन्त्य गर्ने कोसिस गरिरहेका छौँ। यो कुरामा आम नेपाली जनताले देखिरहनुभएको छ, बुझिरहनुभएको छ, देश विकासको बाटोमा कसरी अगाडि बढ्दै छ।

अब यसमा केही केही मान्छेहरूलाई ‘विकास भयो’ भन्ने कुराको पनि पिर र चिन्ता छ। म कसैलाई पनि विकास भयो भन्ने कुरामा पिर चिन्ता नलिनका लागि आग्रह गर्न चाहन्छु। देश विकास गर्नुपर्छ, देश विकास हुँदैछ, देश विकास गरिने छ।

हामीले गाउँ तहदेखि नगर तहदेखि लिएर प्रदेश र केन्द्रीय तहसम्म सबै तहबाट—संघीय तहका तीनवटै सरकारहरू—विकास निर्माणका काममा केन्द्रित हुनुपर्दछ। जनताको जीवनमा परिवर्तन ल्याउने कुरामा केन्द्रित हुनुपर्दछ। जनतालाई विकास कसरी अगाडि बढाउने कुरामा ड्राइभ गर्ने कुरामा राजनीतिक पार्टीहरू र जनप्रतिनिधिहरूले यस काममा अगुवाई गर्नुपर्दछ। त्यसैगरी प्रशासन, सरकारका विभिन्न निकायहरू विकास र सुशासन केन्द्रित भएर अगाडि बढ्नुपर्दछ।

यो आजको समय हो र आजको समयको माग यही हो। यसअनुसार अगाडि हामी बढ्दै गइरहेका छौँ र बढ्दै जानेछौँ। यसरी बढ्दै जानका लागि म सबैसँग आग्रह पनि गर्न चाहन्छु।

हामीले कुनै पनि हालतमा आफूमै निराशा पैदा गर्न हुँदैन। असन्तुष्टि र निराशा होइन, हामीले आशावादिताका साथ आत्मबलका साथ अघि बढ्नुपर्छ।

यो चक्रपथ चौडा गर्‍यौँ, सुरु गर्‍यौँ, फ्लाइओभर बनायौँ। त्यसकारण, यी फ्लाइओभरहरू बनाएका यी सफलताहरू हामी चियर गर्छौँ। यस्ता सफलताहरू हामी पाउँदै जान, हामी काम गर्दै जानेछौँ।

म यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो एउटा महान् सफलता भएको छ। यस्तै सफलताहरू हामी अरू ठाउँमा पनि विस्तार गर्दै जानेछौँ। विभिन्न देशका विभिन्न भागमा पुलहरू बनाउँदै गएका छौँ। बाटाहरू बनाउँदै गएका छौँ। प्राकृतिक विपत्ति आउने, कहीं बाढी जाने, कहीं पहिरो जाने र फेरि भत्काउने गरिरहेको छ। तर हामी हार मान्दैनौँ। त्यसलाई अझ बलियो गरी बनाउँछौँ र हाम्रो देशलाई सुगम देशमा परिणत गर्छौँ। दुर्गम देशबाट सुगम देशमा हामीले परिणत गरिसकेका छौँ।

खानेपानीको समस्या देशभरि थियो। देशभरि डाँडाडाँडामा खोलाका पानीहरू पम्पिङ विधिबाट हामीले पुर्याएका छौँ अथवा आज स्कुल, कलेज, क्याम्पस, युनिभर्सिटी जस्ता कुराहरू, अस्पतालहरू गाउँगाउँमा हामीले पु¥याएका छौँ। एम्बुलेन्स सेवा विस्तार गरिरहेका छौँ र यी सबै कुराहरू पूर्वाधारका पहिलो सर्त हुन्। सञ्चार, विद्युत्—यी क्षेत्रहरूमा हामी काम गरिराखेका छौँ।

त्यसकारण म आग्रह गर्न चाहन्छु—दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू विश्वस्त भएर देश विकासका काममा सरकारले अगुवाई गर्ने छ, यहाँहरूको साथ पाउने अपेक्षा गर्दछ। सरकार लागिरहेको छ, र हाम्रो ब्युरोक्रेसीलाई म धन्यवाद भन्न चाहन्छु। ब्युरोक्रेसीका प्रयासहरू, कामदारका प्रयासहरू—जुन कामदारहरूले यस काममा योगदान गर्नुभएको छ—सबैलाई म धन्यवाद भन्न चाहन्छु। इन्जिनियरहरू र सबै प्रकारका योगदानकर्ताहरूलाई धन्यवाद दिँदै आफ्नो मन्तव्य यहीँ टुंग्याउँछु।

धन्यवाद।

(प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०८२ असार ६ गते ललितपुरको ग्वार्को फ्लाइओभर उद्घाटनका क्रममा व्यक्त गर्नुभएको मन्तव्य प्रधानमन्त्रीको स्वकीय सचिवालयबाट तयार गरिएको)