अंकारा, २८ माघ। भूकम्पले क्षतिग्रस्त टर्की र सिरियामा हृदयविदारक आक्रोश शान्त भएर आँसु सुकेको छ । समय–समयमा निस्किने रुवावासी र विलापले शरीर र मनमा गहिरो घाउको पीडा यथावत रहेको बताउँछ ।
युरोप नजिकै रहेका पश्चिम एसियाका दुवै देशको अवस्था यस्तै छ । यी देशहरूमा यो साता ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प गएको १०० घण्टापछि पनि भग्नावशेषबाट जीवितै भेट्ने आशा समाप्त हुँदै गए पनि चमत्कार भने भइरहेका छन् ।
यो प्राकृतिक प्रकोपमा मृत्यु हुनेको संख्या २४ हजार नाघेको छ । टर्कीमा १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने सिरियामा मृत्यु हुनेको संख्या ३ हजार पुगेको छ । विश्व बैंकले भूकम्प प्रभावित टर्की र सिरियाका लागि १ अर्ब ७८ करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । उक्त रकम उद्धार–राहत कार्य र पुनर्निर्माणमा खर्च गरिनेछ ।
वर्षा र हिमपातका बीच सुस्त गतिमा भइरहेको उद्धार कार्यमा भग्नावशेषमा पिसाब पिएर बाँचेका एक किशोर पनि फेला परेका छन्, उनलाई उद्धार टोलीले निकालेर अस्पताल पठाएको छ । किशोर अदनान मुहम्मद कोर्कुट भूकम्पको केन्द्रबिन्दु गाजियनटेप शहर नजिकै फेला परेका थिए ।
भूकम्पबाट वरपर बसोबास गर्ने करिब १ करोड ५० लाख जनसंख्या सबैभन्दा बढी प्रभावित भएका छन् । यहाँ कुनै पनि घर वा ठूला भवन क्षतिबाट जोगिएका छैनन् । चार दिनदेखि उद्धार कार्य जारी रहे पनि अझै धेरै काम गर्न बाँकी छ ।
चारैतिर र टाढा–टाढासमम भग्नावशेषको थुप्रो छ। ती भग्नावशेष मुनि मानिसहरु पनि दबिएका छन् । भग्नावशेष हटाएर मानिसहरुको खोजी कार्य भइरहेको छ । तर समय बित्दै जाँदा मानिसहरु जिउँदो भेट्टाउने सम्भावना कम हुँदै गइरहेको छ। अत्याधिक चिसोमा बासको खोजीमा लाखौं घरबारविहीन भौतारिरहेका छन् ।
टर्कीमा उद्धार कार्य तीव्र गतिमा भइरहेको छ । उसलाई अमेरिका र सहयोगी राष्ट्रबाट पनि धेरै सहयोग मिलिरहेको छ । तर सिरियाको अवस्था नाजुक छ ।
गृहयुद्धबाट ग्रस्त यो देशले सीमित माध्यमबाट भयावह अवस्थाबाट पुनः प्राप्ति गर्न खोजिरहेको छ। उसको मुख्य सहयोगी रुस अहिले युक्रेन युद्धमा फसेको छ । यसले त्यहाँको उद्धार कार्यमा पनि असर परेको छ । भारतलगायत धेरै देश र अन्तर्राष्ट्रिय निकायले त्यहाँ राहत र उद्धारको काम गरिरहेका छन् ।
टर्कीको सीमा क्षेत्रमा भूकम्प गएको १०५ घण्टापछि चार वर्षीय बालक यागिज कोम्सु भग्नावशेषमा जिउँदै फेला परेका छन् । यस बच्चासँग उसको आमासँगको भेट हृदयविदारक थियो । परिवारका सदस्यले उनलाई जीवितै फेला पार्न असम्भव ठानेका थिए । हबर्टर्क टेलिभिजनले यो जानकारी दिएको हो ।
टर्कीको किरिखान क्षेत्रमा १०४ घण्टासम्म भग्नावशेषमा दबिएकी एक महिला जीवितै फेला परेकी छन् । भग्नावशेषमा कसैलाई जिउँदै फेला पार्ने आशा त्यागेका उद्धारकर्ताहरूका लागि यो अनुभव उत्साहजनक थियो । उद्धार प्रमुख स्टिभन बेयरले भने कि ४० वर्षीय जेनेप कहरामन कंक्रीटको ब्लकमुनि जिउँदै फेला परेका थिए र उनलाई नजिकैको अस्पताल लगिएको थियो।
त्यस्तै, चार दिनदेखि नराम्ररी क्षतिग्रस्त घरमा फसेका १० दिने शिशु र उनकी आमाको शुक्रबार उद्धार गरिएको छ । मानिसहरूले उनलाई देखे र यसलाई भगवानको इच्छा भने ।













प्रतिक्रिया दिनुहोस्