जनता टाइम्स

३ फाल्गुन २०७९, बुधबार २१:२४

काठमाडौं महानगरका मेयर बालेन र उपमेयर सुनितालाई सरकारी निवासको सुविधा


काठमाडौं, फागुन ३ । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखले सरकारी निवासको सुविधा पाउने भएका छन ।महानगरपालिकाले कानुन नै बनाएर प्रमुख र उपप्रमुखलाई सरकारी निवासको सुविधा उपलब्ध गराउन लागेको हो ।

महानगरले जारी गरेको ‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन २०७९’ अनुसार यस्तो व्यवस्था गर्न लागेको छ ।ऐन अनुसार घरको बन्दोबस्त नभएको वा प्रमुख तथा उपप्रमुखको निवासका लागि आफ्नो उपयुक्त घर नभई घर भाडामा लिनुपरेमा घरभाडाबापत कार्यपालिकाले तोकेबमोजिमको रकम उपलब्ध गराउने छ ।

यस्तै प्रमुख र उपप्रमुखको सरकारी निवासको घरको मर्मत–सम्भार खर्च समेत महानगरपालिकाबाट बेहोर्ने ऐनमा उल्लेख छ । महानगरले निजी घरमा बस्ने प्रमुख र उपप्रमुखलाई घर मर्मत र सरसफाइको निमित्त कार्यपालिकाले तोकेबमोजिमको रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।

महानगरपालिकाले यो सुविधा प्रमुख र उपप्रमुखलाई आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म दिने ऐनमा उल्लेख छ ।
यसअघिका प्रमुख विद्यासुन्दर शाक्यले सरकारी निवासको सुविधा लिनुभएको थिएन ।

आफ्नै घर भएका कारण शाक्यले सरकारी निवासको सुविधा नलिनुभएको हो । उहाँभन्दा अघिका मेयरहरुले पनि लैनचौरस्थित बेलायती दूतावास अगाडि रहेको यसअघिको उपराष्ट्रपति निवासलाई सरकारी निवासको रुपमा प्रयोग गर्ने गरेका थिए ।