जनता टाइम्स

८ फाल्गुन २०७९, सोमबार १९:५७

पूर्वराजा ज्ञानेन्द्रबिरुद्ध खनिए माधव नेपाल, दिए कडा चेतावनी (बक्तब्यसहित)


काठमाडौं, फागुन ८ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कडा चेतावनी दिनुभएको छ ।

अध्यक्ष नेपालले आज बिज्ञप्ती जारी गरी शाहले फागुन ७ गते ७३ औँ प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तव्यको भत्र्सना गर्दै कडा चेतावनी दिनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आज विज्ञप्ति जारी गर्दै जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको नेपालको संविधानद्वारा सामान्य नागरिक बनाइएको तथ्य भुलेर ज्ञानेन्द्रको बक्तब्य आएको बताउनु भएको छ ।

‘वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत वक्तव्य हो । नेपालमा जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकिएको र अहिले कोही पनि “श्री ५ महाराजधिराज” नरहेको तथा सम्पूर्ण नेपाली सामान्य नागरिक भइसकेको व्यहोरा सर्वविदितै छ । उक्त वक्तव्यमा गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूप्रति जसरी लाञ्छना लगाइएको छ, त्यो आपत्तिजनक छ,’ नेपालले भन्नुभएको छ ।

नेपालले ज्ञानेन्द्रको बक्तब्यको कडा प्रतिवादमा उत्रन पनि अपिल गर्नुभएको छ । ‘यसले मुलुकको अग्रगमन र प्रगति चाहनेहरूलाई गम्भीर र चिन्तित बनाउनु स्वाभाविक छ । अतः सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र व्यक्तिहरू यस खाले गतिविधिका विरुद्ध एकजुट भएर प्रतिवाद गर्न हाम्रो पार्टी हार्दिक आह्वान गर्दछ,’ अध्यक्ष नेपालले भन्नुभएको छ ।