जनता टाइम्स

२२ फाल्गुन २०७९, सोमबार १९:३६

भीम सार्कीको ब्याटिङ र दीपेन्द्रसिंह ऐरीको बलिङमा यूएईमाथि नेपालको शानदार जित


काठमाडौं, फागुन २२ । आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले यूएईविरुद्ध सानदार जित हात पारेको छ । आज भएको खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १८७ रन बनाउँदै अलआउट भयो ।

नेपालले यसअघिका तीन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको थियो । नेपाल यूएईसँगै पराजित भएको हो । २०८ रनको लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ गर्दै १३९ रनमा अलआउट भएको थियो । यूएईका लागि सर्वाधिक रन बनाउने आसिफ खानको विकेट दीपेन्द्रसिंह ऐरीले लिएपछि नेपाल खेलमा फर्किएको हो ।

११५ बल सामना गरेका खानले २ चौका र ३ छक्काको सहयोगमा ८२ रन बनाए । ४१.२ ओभरमा खानलाई यूएईको ७औं विकेटका रूपमा ऐरीले आउट गरेका हुन् । त्यसलगत्तै ऐरीले ४१.३ ओभरमा कार्तिक मैय्यप्पनलाई यूएईको ८औं विकेटका रूपमा आउट गरे । त्यस्तै आर्यन लाक्राले ५० रन बनाए । त्यस्तैगरी वृत्य अरविन्दले १३ रन बनाए । अन्य ब्याट्सम्यानको भने कमजोर प्रदर्शन रह्यो ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करन केसी र आरिफ सेखले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । ६८ रन बनाउँदा ५ विकेट गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीम सार्कीले ७० रन प्रहार गर्दै इनिङ्स सम्हालेका थिए ।

उनले छैटौं विकेटका लागि सन्दीप लामिछाने र सातौं विकेटका लागि आरिफ शेखसँग ५६/५६ रनको साझेदारी गरेका थिए । त्यस्तै आरिफ शेखले नटआउट ४३ रन बनाए । ५६ बल सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे । लामिछानेले २७ रन बनाए । करन केसीले ११ बल खेल्दै १७ रन बनाए । त्यस्तै नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रतीश जिसीले ११ रन बनाए ।

ओपनर आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल मल्लले ३२ रन बनाउनुबाहेक अन्य टप अर्डर ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेलले १ र दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए । यूएईका लागि जुनैद सिद्दीकीले ३ तथा रोहन मुस्तफा, आर्यन लाक्राले २(२ विकेट लिए ।

यूएईलाई हराएसँगै नेपाल अंकतालिकाको शीर्ष तीनमा रहने सम्भावना कायमै रहनेछ । अंकतालिकाको शीर्ष ३ मा रहे नेपालले विश्वकप क्वालिफायर खेल्न पाउनेछ । यूएईले पीएनजीसँगका दुवै खेल गुमाएपछि त्यसको फाइदा नेपाललाई पनि पुगेको छ । आइतबार भएको खेलमा यूएई पीएनजीसँग पाँच विकेटले हारेको थियो ।

नेपालको ३२ खेलबाट ३२ अंक भएको छ । यूएईमाथि जित हात पारेसँगै नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यूएईपछि नेपालले घरेलु मैदानमा फागुन २५ देखि यूएई र पीएनजीसँगै लिग टुको अन्तिम सिरिज खेल्नेछ । बाँकी ४ मध्ये २ खेल जिते नेपालको ओडीआईले निरन्तरता पाउनेछ ।