काठमाडौं, फागुन २५ । आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि नेपालले क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनीलाई २ सय ९८ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा २ सय ९७ रनमा अलआउट भयो ।
आसिफले १ सय १० रन बनाएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाउदै भ्रमणकारी टोली पपुवा न्यु गिनीलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । तीन साताअघि नामिबियाविरुद्ध लिग-२ कै खेलमा नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ८७ रन बनाउँदै विजय लक्ष्य पूरा गरेको थियो, जुन यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर थियो ।
१ सय १ बलमा शतक पूरा गरेका आसिफले कुल १ सय १० बल खेली १२ चौका र १० छक्का प्रहार गरे । आसिफ नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पाँचौं खेलाडी हुन् ।
यसअघि नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । सन् २०२१ को सेप्टेम्बरमा ओमानविरुद्ध मस्कटमा ९० रन बनाउनु आसिफको यसअघिको व्यक्तिगत उच्च स्कोर थियो । आफ्नो इनिङ्समा ९० रन बनाएपछि उनी एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी बनेका थिए । रोहित पौडेलको ४० खेलको तुलनामा आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरे ।
आसिफ र कुशल भुर्तेलसँग पहिलो विकेटमा १ सय १० रनको साझेदारी गरी नेपाललाई सानदार सुरुआत दिलाए । कुशल ४५ रनमा आउट भएपछि यो साझेदारी टुटेको थियो । कुशलले ५६ बल खेली ६ चौका प्रहार गरे । कुशल मल्ल २, ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए ।आसिफले रोहितसँग चौथो विकेटमा ६७ रनको साझेदारी गरे । रोहितले ३० बल खेली ३ चौकाहित ३५ रन बनाए । आसिफ ३८ औं ओभरमा आउट भए । दीपेन्द्रसिंह ७ रनमा आउट भए भने आरिफ शेखले १५ रन जोडे ।
एक छक्का प्रहार गरेका करण केसी ८, सोमपाल कामी ७ रनमा आउट भए । आउट हुने अन्तिम खेलाडी भिम सार्की रहे । उनले ३८ बल खेली ४ चौका प्रहार गरे । पपुवा न्यु गिनीका लागि सेमो कामिआले ५ विकेट लिए । उनले ९.१ ओभरमा ३८ रन खर्चे । रिलेय हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्