जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार १७:१७

नेपालको कानूनी इतिहासलाई केपी ओलीको चुनौती : पहिलो प्रधानन्यायाधीशदेखि पहिलो संबिधानबारे नै गलत पढाइएको ठोकुवा (भिडियोसहित)


काठमाडौं, चैत २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान नभई जुद्धशमशेरको माइलो छोरा रहेको तथ्य उजागर गर्नुभएको छ ।

अनेरास्वबियुले आज आयोजना गरेको कानुनका विद्यार्थीसँगको छलफलमा अध्यक्ष ओलीले यस्तो तथ्य अघि सार्नुभएको हो । उहाँले नेपालमा कानुनको इतिहासमा गलत पढाइएको बताउनु भयो ।

‘तपाईंहरुले कानुनको किताबमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान भनेर पढ्नुभएको होला तर होइन, जुद्धशमशेरका छोरा नेपालको पहिलो प्रधानन्यायाधीश हुन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

१९९७ सालमा जुद्धशमशेरले दुईवटा शनद जारी गरेको र त्यसमध्ये कानुनी शनदको आधारमा पहिलो अदालत गठन भएको ओलीको भनाई छ । ‘त्यतिबेला प्रधानन्यायाधीश भनिएको थिएन । न्यायाधीश जर्नेल भनिएको थियो, त्यो पदमा आन्तरिक प्रतिस्पर्धा राणाहरुको बीचमा भएको थियो । मोहनशमशेर र जुद्धशमशेरका छोराबीच प्रतिस्पर्धा भएको थियो । सम्भवतः जुद्धशमशेरको माइलो छोरा थिए । उनी नेपालको पहिलो प्रधानन्यायाधीश भएका थिए,’ ओलीले भन्नुभयो ।

कानुनको इतिहासमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान उल्लेख छ । उहाँ भारतीय नागरिक हुनुहुन्थ्यो । एमाले अध्यक्ष ओलीले ००७ सालको परिवर्तनपछि विदेशीलाई प्रधानन्यायाधीश बनाउन संविधान संशोधन गरिएको बताउनु भयो । ‘विदेशी नागरिकलाई देशको न्यायालय प्रमुख बनाउने कुरा संवैधानिक हुनै सक्दैन तर भयो । किनकि उहाँ दार्जीलिङमा हुँदा बीपी कोइरालासँग घनिष्ठता बढेको थियो,’ ओलीले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले नेपालको पहिलो संविधान पनि २००४ सालको नेपाल सरकार वैधानिक कानुन नभई अर्कै रहेको बताउनु भयो । उहाँले जुद्धशमशेरले १९९७ सालमा जारी गरेको शनद नै नेपालको पहिलो संविधान भएको ठोकुवा गर्नुभयो ।