जनता टाइम्स

२९ चैत्र २०७९, बुधबार १९:२०

माधवलाई योगेशको प्रश्न : तपाईं होसमा त हुनुहुन्छ ?


मैले बुझेको माधव नेपाल कुनै नचाहिँदो चिज सेवन गर्नुहुन्न, मध्यपान–धूमपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई । तर आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ

काठमाडौं, चैत २९ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनु भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव भट्टराईले एमालेबाट प्रतिनिधि सभा विघटन हुन सक्छ भन्ने नेपालको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनु भएको हो ।

सुनसरीको इनरुवामा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा एमाले रहेको गम्भीर आरोप लगाउनुभएको थियो । त्यसको जवाफ दिँदै योगेशले माधव कमरेड तपाईं होसमा त हुनुहुन्छ ? कि हुनुहुन्न ? भन्दै प्रश्न गर्नुभयो ।

माधव नेपालको बोली शंकास्पद रहेको भन्दै उहाँले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको बताउनुभयो । प्रतिपक्षमा रहेको एमालेले संसद् विघटन गर्न सक्छ भन्नुले माधव नेपालको बोली नै शंकास्पद रहेको सांसद् भट्टराईले बताउनुभयो ।

’पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेबाट संसद विघटन हुन लागेको छ, सबै सचेत हौं भन्नुभएछ, मैले बुझेको माधव नेपाल कुनै नचाहिँदो चिज सेवन गर्नुहुन्न, मध्यपान–धूमपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई । तर आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ, उहाँले आफू दुरुस्त भएर त्यो बोलेको जस्तो लाग्दैन,’ भट्टराईले भन्नुभयो । उहाँले माधवको बोलीले उहाँकै प्रतिष्ठा र इमान हराएको बताउनु भयो ।

‘जुन पार्टी प्रतिपक्षमा छ त्यसले कसरी संसद विघटन गर्छ ? उहाँले के भन्दै हिँड्नुभएको छ ? सपना देख्नुभएको छ कि ? विपनामा हुनुहुन्छ कि ? होसमा हुनुहुन्छ कि ? हुनुहुन्न ? उहाँजत्तिको १५ वर्ष एउटा ठूलो पार्टीको नेतृत्व गरेको मान्छेले, प्रधानमन्त्री भइसकेको मान्छेले, यति अनुभवी राजनीतिज्ञले त्यस्तो बोल्ने ?’ एमाले सचिव भट्टराईले भन्नुभयो ।

उहाँले आफूले माधव नेपालसँग संगत नगरेको एक–डेढ वर्ष भइसकेकोले बिगतका कुराभन्दा फरकतिर गएको आभास मिलेको बताउनु भयो । ’यो एकडेढ वर्षमा उहाँ धेरै बदलिनुभएछ,’ भट्टराईले भन्नुभयो ।