जनता टाइम्स

२० बैशाख २०८०, बुधबार १३:१८

क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख, कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मन्त्रिपरिषदको निर्णय


काठमाडौं, बैशाख २० । एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको छ ।

सरकारका प्रवक्ता रेखा शर्माले क्रिकेट खेलाडीले देशको मान बढाएको र त्यसको विकास भइरहेकाले सरकारले पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । ‘एसीसी प्रिमियर कप विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय भएको छ,’ मन्त्री शर्माले भन्नुभयो । त्यस्तै क्रिकेट टोलीका अफिसियललाई भने जनही ३ लाख रुपैयाँका दरले दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । नेपालले मंगलबार एसीसी प्रिमियर कप जितेको थियो । यूएईलाई पराजित गर्दै नेपालले एसीसी प्रिमियर लिग जित्दै एसिया कपका लागि छनोट भएको थियो ।