जनता टाइम्स

२३ बैशाख २०८०, शनिबार १८:५५

सत्ता गठबन्धनको बैठकमा मुडअफ देखिए देउवा


काठमाडौं, बैशाख २३ । सरकारमा सहभागी दलका शीर्ष नेताहरुबीच छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा तनावमा देखिनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो बिश्वासपात्र पूर्वगृहमन्त्री बालकृष्ण खाण मुछिएपछि देउवा बालुवाटारमा मुडअफ देखिनुभएको हो ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र शक्तिबहादुर बस्नेत, कांग्रेस सभापति देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको छ । बैठकमा केही मन्त्री र कानून ब्यवसायीलाई समेत सहभागी गराइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नागरिकता विधेयक लगायत समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । आजको बैठकमा अघिल्ला बैठकहरुमा जसरी देउवाको मुस्कान हराएको देखिएको हो ।

बैठकमा नागरिकता विधेयकलाई के गर्ने भन्ने विषयले प्रवेश पाएको छ भने आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट, का विषयमा छलफल भएको छ ।