काठमाडौं, ९ असार । करिब ४७ वर्षअघि जर्मनीको भूमी टेक्दा त्यहाँका सडकमा नेपाली अनुहार बिरलै देखिन्थे । जर्मन युवतीसँग प्रेममा परेका तन्नेरी रामप्रताप थापा पनि प्रेमिकाको हात समाउँदै केही समय जर्मन सहरहरू घुमे । त्यहीँ पढे । बिहे गरे । अनि घरजम भएपछि त्यही मायाले तान्यो । गोरखाको मध्यम वर्गीय परिवारमा उहाँ सन् १९५० मा जन्मिनुभएको थियो । १९७४ मा पहिलोपटक घुम्न भनेर जर्मनी पुग्नुभएको थापा त्यो बेला लगभग २ महिनाजति घुमेर फर्किनुभयो ।
त्यो बेलै जर्मन परियोजनामा काम गर्न आएकी एकजना जर्मन युवतीसँग नेपालमै उहाँको प्रेम बसिसकेको थियो । यता पनि उहाँले पढाइ सक्दै हुनुहुन्थ्यो । विदेशमै बस्ने रहर त थिएन । परिवार चाहन्थे उहाँ नेपालमै बस्नुहोस । नेपालमै केही गरुन् । गोरखाको भूमिमा धेरै लामो पुस्तादेखि बस्दै आएको परिवार भनेर चिनिन्थे उहाँहरू । पहिलोचोटी जर्मनीका सहर घुमेर फर्किनुभएको उहाँलाई त्यहीँको प्रेमले पढ्नका लागि भनेर फेरि तान्यो ।
सन् १९७६ मा दोस्रो पटक त्यहाँ पुगेपछि त्यही प्रेममा उहाँ बाँधिनुभयो अनि त्यतै बस्नुभयो । घरबास जमिसकेको थियो । पढाइ सकिएको थियो । जागिर पनि भेटाइ सक्नुभएको थियो । लगभग ३० वर्षसम्म उहाँले त्यहाँको प्रतिष्ठित बैंकमा काम गर्नुभयो । जर्मन भूमि मै सन्तानहरू पनि जन्मिए । त्यसपछि कहिलेकाहिँ मात्रै उहाँ नेपाल आउन थाल्नुभयो । सारा जीवनको कर्मभूमि उहाँले जर्मनीलाई नै बनाउनुभयो । दोस्रो विश्वयुद्ध सकिएपछि सारा देशहरू पुनर्निर्माणमा जुट्न थाल्नुभएको थियो । विश्वभरि त्यसपछि शान्ति अभियान घन्किएको थियो । त्यही बेला विश्वका धेरै देशमा नेपालीहरू पनि पुग्न थाल्नुभयो ।
त्यहीँको माटोमा पसिना बगाउने नेपालीहरू बाक्लिँदो क्रममा थिए । जर्मनका सहर अनि कुनाकाप्चामा पनि नेपालीहरू पुग्न थाले । सन् २०००को युग सुरु हुँदै गर्दा विश्वका धेरै भागमा नेपाली पाइलाहरू सल्बलाइसकेका थिए । धेरै नेपाली पढ्न अनि काम गर्न भनेर विश्वका धेरै देशमा पुगिसकेका थिए । त्यहीँ जमिसकेका थिए । त्यो बेला सार्क बाहेकका देशहरूमा करिब करिब ५ लाखभन्दा धेरै नेपाली छरिइसकेका थिए । सुरु मै विदेशी भूमिमा पुगेर त्यहाँ जागिर अनि ब्यापार गरेर लगभग आफूलाई ‘सेट’ गरिसकेका नेपालीले त्यसपछि विश्वभरका नेपालीलाई एउटै छातामुनि ल्याउने प्रयास थाल्नुभयो ।
त्यतिबेला सबैभन्दा बढी नेपालीहरू केन्द्रित अनि भूपू गोर्खा सैनिकहरुको बसोबास रहेको वेलायतबाटै सबै नेपालीलाई एकै ठाउँमा प्रयास थाल्न त्यो बेला मस्कोका डा.उपेन्द्र महतो, जिबा लामिछानेसहित विभिन्न देशका १६ जनाको बैठकले गैर आवासीय नेपाली संघ (एनआरएनए) को रचना गर्नुभयो । एनआरएनए जन्माउने मध्येका एक हो, उहाँ नै रामप्रताप थापा । लण्डनको त्यही बैठकले २००३ को अक्टोबर ११ का दिन काठमाडौंमा पहिलो गैर आवासीय नेपाली (एनआरएन) सम्मेलन सम्पन्न भयो । त्यसको लगभग ७ वर्षपछि बल्न नेपाल सरकारको कानुनअनुसार यो संस्था नेपालमै दर्ता पनि भयो ।
त्याग, समर्पण र लगन
पढ्न, पढाउन अनि मात्रै ‘कर्म’ गर्न जान्नुभएको रामप्रतापले राजनीति कहिल्यै गर्नुभएन र चाहनु पनि भएन र गर्न पनि जान्नुभएन । अनि राजनीतिको त्यो ‘दूषित’ बाछिटादेखि सधैं टाढा बसिरहनुभयो । ‘मैले राजनीतिलाई अवहेलना त गरेको होइन । तर, म आफै राजनीतिमा कहिले पनि लागेको छैन । त्यसैले अहिलेसम्म म कुनै पनि राजनीतिक पार्टीमा संग्लन छैन । राजनीतिमा लाग्न मेरो क्यारेक्टर पनि मिल्दैन जस्तो लाग्यो। राजनीतिमा आउन धेरैले प्रेसर गरे पनि मैले चाहिनँ’ अहिले आउँदा रामप्रतापलाई लाग्छ ‘सायद त्यही राजनीतिमा नमिसिएरै म सधैं नेतृत्वमा पुग्नबाट चुकें कि ?’
रामप्रताप कुनै पनि ब्यापार व्यवसायमा लाग्नुभएन । जीवनका आधा यात्रा उहाँले बैङ्किङ पेशामा बिताउनुभयो । त्यो सँगै नेपाल र नेपालीका लागि सामाजिक अभियानमा पनि लाग्नुभयो । एनआरएनए जन्माउँदा उहाँलाई लागेको थियो, यही संस्था हो, जसले विश्वभरि छरिएका सारा नेपालीलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्नेछ अनि जन्मभूमि प्रतिको प्रेम झन् एक ढिक्का हुनेछ । राष्ट्रप्रेमको त्यही ढिक्कालाई उहाँले बचाइराख्न चाहनुभएको थियो र त्यसका लागि एकपटक नेतृत्वमा पनि आउन चाहनुभएको थियो ।
‘त्यो मेरो कुनै महत्वकांक्षा थिएन। राजनीति पनि थिएन अनि अरू केही लोभ पनि थिएन’ थापाले भन्नुभयो,‘तर एकपटक नेतृत्वमा आएर विश्वभरि छरिएका नेपालीको सेवा गर्ने अनि त्यसको फल देशमा पनि लैजाने मेरो ठूलो इच्छा हो। तर परिस्थितिहरू कहिल्यै मेरा अनुकूल भएनन् ।’ त्यसका लागि चौथो सम्मेलनमा उहाँले अब आफ्नो पालो आएको ठानेर अध्यक्षका लागि प्रयास पनि गर्नुभयो । लगभग उहाँलाई नरुचाउने सायदै थिए । सबैले उहाँलाई नै नेतृत्वका रूपमा स्विकार्न तयार भइसकेका थिए भने कतिले त उहाँलाई खादा माला लगाएर बधाई पनि दिइसकेका थिए । तर फेरि अरू कसैको इच्छा उहाँले सुन्नुभयो ।
त्यसलाई नकार्न सक्नुभएन । डर थियो, असन्तुष्टी यी स्वरहरू बढ्दै जाँदा एनआरएनए फुट्ने पो हो कि ? पाइसकेको अध्यक्ष पद त्यो बेला रामप्रतापले छोडिदिनुभयो । अन्ततः देवमान हिराचन अध्यक्ष हुनुभयो । पाँचौ महाधिवेशनसम्म आइपुग्दा उहाँलाई एनआरएनएमा राजनीति घुस्न थालेको अनुभव भइसकेको थियो । तथापि रामप्रताप फेरि अध्यक्ष हुन खोज्नुभयो तर त्यो बेला जीवा लामिछानेले पनि अध्यक्ष हुने इच्छा जनाउनुभयो । देवमान फेरि दोहोरिन चाहनुहुन्थ्यो । तर जीवाका पक्षमा बहुमत थियो । रामप्रतापले फेरि एनआरएनएलाई उद्देश्यमूलक बनाउनका लागि यसपालि पनि जीवालाई छोडिदिनुभयो ।
‘त्यो बेला जीवाजीजस्ता योङ्ग मान्छेहरू आएपछि संस्थामा केही परिवर्तन हुन्छ अनि संस्थाले नयाँ गति लिन्छ कि भनेर मैले पनि उहाँलाई सपोर्ट गर्दै छोडिदिएँ’ रामप्रतापलाई त्यसपछि लाग्यो, ‘अहँ संस्था त झन्झ–न् राजनीतिले थलिँदैछ। अघि बढ्ने होइन झन्–झन् अलमलमा फँस्दैछ।’ जीवा सहमतिमै अध्यक्ष हुनुभयो । हिराचनले अन्तिम अवस्थामा उम्मेदवारी फिर्ता लिनुभयो । छैठौं अधिवेशनसम्म पनि उनलाई एक पटक नेतृत्व गर्ने इच्छा जागै थियो । तर त्यो ‘महत्वकांक्षा’ भने थिएन न उहाँका लागि त्यो जीवनकै प्रतिष्ठाको विषय थियो । त्यो बेला पनि उहाँको उम्मेदवारी चर्चामा थियो ।
सँगै शेष घलेलगायत अरू पाँचजनाले पनि अध्यक्षका लागि उम्मेदवारी दिनुभयो । अब भने एनआरएनए राजनीतिमा चुर्लुम्मै डुबेको अनुभव रामप्रतापले गर्नुभयो । शेष घलेजस्ता मान्छे आउँदा एनआरएनएको गति र शक्ति झन् बढ्ने देखे रामप्रतापले फेरि पछि हट्नुभयो । अन्तिममा घलेले नै बाजी मार्नुभयो । रामप्रतापले त्यहाँ पनि ‘त्याग’ गर्नुभयो । तर संस्थाप्रतिको लगन, समर्पण र प्रेम कहिल्यै मार्न सक्नुभएन । शेष घलेको पहिलो कार्यकालमा रामप्रताप एनआरएनएको प्रमुख संरक्षक पनि हुनुभएको थियो । २०२१ को अधिवेशनसम्म आइपुग्दा कुमार पन्तले नेतृत्व सम्हालिरहनुभएको थियो ।
तर अधिवेशनको मुखैमा विवादहरू यति धेरै बल्झिए कि समाधानका बाटाहरू लगभग पुरिइसकेका थिए । परराष्ट्र मन्त्रालयले शेष घलेको अध्यक्षमा एउटा संरक्षक परिषद बनाएर विवादहरू टुङ्ग्याउन र अधिवेशन गराउन भनेर कार्यादेश दियो । मन्त्रालयले घलेलाई व्यक्तिगत रुपमा विवादहरू टुङ्ग्याउन र अधिवेशन गराउने भनेर कार्यादेश दिएको थियो । तर यो समाधानको बाटो नभएको सिद्ध भयो । एनआरएनएभित्र राजनीतिको विभाजित बाटोले अचम्मसँग बढुवा पाएको थियो । त्यो परिषदमा पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीबा लामिछाने, देवमान हिराचन र भवन भट्टसँगै रामप्रताप थापा पनि हुनुहुन्थ्यो । एनआरएनए जन्माउने पूर्व अध्यक्षहरूको त्यो परिषदले प्रयास थाल्दा थाल्दै पनि यही अधिवेशनले एनआरएनएलाई चिर्दै–चिर्दै झन् धेरै टुक्राहरू पारिदियो ।
अन्तिम अवस्थामा संस्थाका नेतृत्वकर्ताहरू अलग्गिएर दुईवटा बाटो भयो । आफ्ना नजिकका मान्छेहरू राखेर समानान्तर एनआरएनए बनाइयो । यता मूल नेतृत्वमा झन् अलमल भयो । अन्तिममा एउटा उपाय निस्क्यो, तीन जना अध्यक्ष। अघिल्लो अधिवेशनबाटै अध्यक्ष हुन खोजिरहेका कूल आचार्य, वद्री केसी र रविना थापाहरू छ महिना कार्यकाल बाँडेर अध्यक्ष हुनुभयो । ११ जना उपाध्यक्ष छानिए, २ जना महासचिव भए । ५ जना उपमहासचिव अनि १० जना सचिव ३ जना कोषाध्यक्ष र ८ जनासम्म सहकोषाध्यक्ष राखेर पदहरू टुक्रा टुक्रा पारेर बाँडियो । एनआरएनएको २० वर्षे इतिहासमा यस्तो पहिलोचोटी भएको थियो कि जसले जे इच्छा राख्छ त्यही पाए । रातारात बिधान सच्याएर ७४ जनाभन्दा धेरै पदाधिकारीका हुल नेतृत्वमा छिर्यो ।
त्यो कल्पना, यो एनआरएनए
रामप्रतापहरूले त्यो बेला जन्माएको एनआरएनएभित्र यो संस्कार झाँगिएला भन्ने कल्पना उहाँहरूले कहिल्यै गर्नुभएको थिएन । तर त्यही भयो जहाँ रामप्रतापहरूको कल्पना अनि आशा र भरोसाहरू पुरिन थाले । एनआरएनएभित्र राजनीति यसरी झाँगियो कि अब यसलाई सफा गर्न निकै कठिन हुनेछ । अब रामप्रतापलाई कुनै इच्छा छैन नेतृत्वमा आउने । उहाँले बुझ्नुभएको छ, अब एनआरएनए अभियान्ताहरूको रहेन । यो त अब सिमित स्वार्थ बोकेका ब्यापारी, कुनै आस्था बोकेका राजनीतिक दल अनि त्यस्तै स्वार्थ समूहको चङ्गुलमा फँसिसक्यो ।
यी सब नपाइँरहदा उहाँलाई कत्ति चिन्ता छैन, जबसम्म एनआरएनए आफ्नो गन्तव्य बिर्सदैंन । बरू डर छ त्यसरी जन्माएको अनि प्रेमले हुर्काएको संस्था बाटो बिराउँदै–बिराउँदै झन् बिलाउने पो हो कि ! मूल कार्यकारी नेतृत्वमा उहाँलाई कहिल्यै आउन नदिइएको ठान्छन् कतिपय उहाँका शुभिचन्तकहरूले । तर उहाँले त्यसका लागि उतिसारो मरिहत्ते कहिल्यै गर्नुभएन ।
कुनै कार्यकारी पदमा नरहे पनि उहाँ एआरएनएभित्रै रहेर सारा आप्रवासी नेपालीका लागि धेरै लड्नुभयो । प्रवासी नेपालीलाई नागरिकता दिलाउनका लागि उहाँले संस्थाभित्र धेरै भूमिका खेल्नुभयो । एनआरएनएले उहाँलाई नै नेपाल सरकारसँग समन्वय गरेर नागरिकताको मुद्दामा काम गर्ने जिम्मेवारी दिएको थियो । उहाँले त्यसका लागि नेपाल सरकार, यहाँका राजनीतिक दल र नेतृत्वसँग निकै संघर्षपूर्ण पहल गर्नुभयो । नेपाल सरकारले उहाँलाई सन् २००३मा जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्य दूत पनि बनाएको थियो । अहिले पनि उहाँ त्यो पदमै हुनुहुन्छ । र उहाँ सन् २००० देखि जर्मन–नेपाल मैत्री संघको अध्यक्ष पनि हो ।
एनआरएनएको नेतृत्व नपाए के भो !
कुनै न कुनै डोरीहरू समाएर यसरी उहाँ नेपाल र नेपालीबाट टाढा भने कहिल्यै हुन सक्नुभएन । ‘राजनीतिमा कहिल्यै लागिनँ त्यसैले त एनआरएनएको संस्थापक हुने सौभाग्य पाएँ। संसारभर छरिएर रहेका नेपालीको अभिभावक बन्ने मौका मलाई मिल्यो । म आफूलाई भाग्यमानी ठान्छु । म जस्ता नेपाली अरु देशमा पनि थिए होला, तर मलाई यो जिम्मेवारी दिइयो’ उहाँले भन्नुभयो,‘युरोपमा बसे पनि विश्वभरका नेपालीलाई सेवा गर्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु। संसारभरका नेपालीबाट आवाज उठेको थियो राम थापालाई संस्थापकको जिम्मेवारी दिनुपर्छ भनेर । म पनि खुल्ला रुपले लागें । मैले मौका पाएँ, अब गरेर देखाउनु पर्छ भनेर म लागें ।’
र, अझै पनि मन अठोट छ रामप्रतापसँग, एनआरएनएलाई राजनीतिमुक्त गराउनुपर्छ भन्ने अठोट– ‘मैले आफैले राजनीति गर्न जानिन् । नगरेपछि सिक्ने पनि कुरा भएन । राजनीति नजानेका कारण एनआरएनएमा लपन–छपन गर्न जानिन् । मेरो मान्यता एनआरएनएमा राजनीति गर्नु हुँदैन भन्ने थियो। पवित्र सामाजिक संस्थामा राजनीतिको रङ मिसाउन हुँदैन भन्ने नै हो ।’ संस्था बचाउन, नेपालीलाई एकढिक्का बनाउन उहाँले जीवनभरि अरूलाई नै बाटो छोडिदिनुभयो ।
प्रतिक्रिया दिनुहोस्