जनता टाइम्स

११ असार २०८०, सोमबार १०:३३

रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार


काठमाडौं, असार ११ । गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ।  रोमनियाको एक कार्यक्रममा गायक सपुतमाथि बोतल प्रहार भएको हो । उहाँमाथि प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।

रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उहाँको टाउकोमा लागेको थियो ।

गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उहाँमाथि आक्रमण भएको हो ।

सपुतले ‘बोल माया‘’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो । सपुतले त्यसलाई छल्न भ्याएनन् । उहाँको निधारमा सामान्य चोट लागेको सपुतसँगै रहेकी गायिका प्रीति आलेले जानकारी दिनुभएको छ ।

सपुतलाई हमला गर्ने नियतले नभई रक्सीको तालमा प्रहार भएको आयोजकले जनाएको छ । सो घटनापछि कार्यक्रम आधा घण्टा जति बिथोलिएको थियो । त्यसपछि फेरि सपुतले गायनलाई निरन्तरता दिनुभएको थियो ।

आयोजकले बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन । यद्यपि, कुनै प्रहरी कारबाही गरिएको छैन । आयोजकहरूले घटनाको जिम्मेवारी आफूहरूले लिने बताएका छन ।

टविटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेख्नुभएको छ, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोत्तल प्रहार, थुक्क हामी नेपाली कलाकार भनेको रास्ट्रको गहना हो, सकिन्छ सम्मान गरौ, सकिदैन भने अपमान पनि नगरौ ।’

जवाफमा समाजसेवी आनन्दराम पौडेलले लेखेका छन, ‘ती बोतल प्रहार गर्नेहरू माओवादी हुन’ भन्दै लेख्नुभएको छ । यस्तै गायक बद्री पंगेनीले पनि निन्दा गर्नुभएको छ ।