काठमाडौं, भदौं १६ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने हुनुभएको छ । नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग आइतवार (हिजो) साँझ टेलिफोन बार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।
नेम्वाङलाई प्रधानमन्त्री ओलीले आफू ठीकठाक रहेको भन्दै कुनै चिन्ता नलिनसमेत आग्रह गर्नुभएको छ । गत भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । आगामी बुधवार सो उपचार सकिने जानकारी चिकित्सकले यसअघि नै दिइसकेका छन । चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उपचार प्रभावकारी रुपमा सफल भएको छ ।
प्रधानमन्त्री ओलीले संसदीय काम कारवाही र विधेयकहरुको विषयमा जानकारी लिन नेम्वाङलाई फोन गर्नुभएको थियो । ‘उहाँले हिँजो साँझ आफैंले मलाई फोन गर्नुभएको थियो । मैले उहाँलाई कस्तो छ भनेर सोध्दा आफू एकदम ठीक छु र यसअघिको निर्धारित कार्यक्रम अनुसार नै भदौ २० गते फर्किन्छु भन्नुभएको छ । उहाँको बोली सुन्दा पनि तन्दुरुस्त र उत्साहित हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीसँगको टेलिफोन बार्ताबारे जानकारी दिँदै जनताटाइम्ससँग नेता नेम्वाङले भन्नुभयो, ‘मेरो स्वास्थ्यको चिन्ता नलिनोस, म भएर २० गते स्वदेश फर्कँदैछु ।’ आफू र प्रधानमन्त्रीबीच संसदीय काम कारवाहीकै बारेमा बढी कुराकानी भएको जानकारी पनि नेता नेम्वाङले दिनुभयो ।
‘उहाँले विधेयकको बारेमा सरोकार देखाउनुभयो । सत्य निरुपण तथा मेलिमिलाप विधेयकको बारेमा जानकारी माग्नुभयो, मैले सबै प्रक्रिया सहमतिमा भइरहेको जानकारी गराएँ,’ नेम्वाङले भन्नुभयो । सम्वादको क्रममा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको मस्यौदा यसअघि प्रधानमन्त्रीसहित नेकपा र कांग्रेस नेताहरुबीचको सहमतिअनुसार नै अघि बढिरहेको जानकारी आफूले प्रधानमन्त्री ओलीलाई गराएको नेता नेम्वाङले बताउनु भयो । अन्य विधेयकहरु पनि सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइएको र कुनै चिन्ता नलिन आफूले प्रधानमन्त्रीलाई सुझाएको जानकारी नेम्वाङले दिनुभयो ।
गत साउन १८ गते पहिलो पटक मृगौलाको परीक्षणका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीलाई चिकित्सकले उपचार नै गर्नुपर्ने भन्दै पुनः बोलाएपछि साउन २७ गते स्वदेश फिर्ता भएर पार्टी र सरकारको गर्नै पर्ने काम सकाई भदौ ५ गते सिंगापुर जानुभएको थियो । सिंगापुर पुगेकै भोलिपल्ट भदौं ६ गतेबाट प्रधानमन्त्री ओलीको मृगौलाको उपचार सुरु गरिएको थियो ।
प्लज्मा फेरेसिस बिधिबाट उहाँको पाँचौं पटक शनिवार उपचार भएको छ भने आज छैटौं पटक उपचार हुनेछ । पर्सि बुधवार सो बिधिबाट सातौं अर्थात अन्तिम पटक उपचार गरिनेछ । बुधवारको उपचारसँगै प्रधानमन्त्रीको उपचार सकिनेछ । त्यसपछि बिहीवार रिपोर्ट लिएर शुक्रवार नेपाल फर्कने जानकारी प्रधानमन्त्री ओलीले दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्