काठमाडौं, साउन ३ । नेकपा (एमाले) ले संसदमा आफ्नो भूमिका थप प्रभावकारी, सशक्त र परिणाममुखी बनाउने उद्देश्यका साथ आज पार्टीका संघीय सांसदहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पार्टी संसदीय विभाग प्रमुख एवं पार्टी सचिव पद्मा अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका संघीय सांसद तथा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अर्यालले जनताका आवाजलाई प्रभावकारी रूपमा सरकारसम्म पुर्याउने, नागरिकका मुद्दालाई संसदमा सशक्त ढंगले उठाउने तथा सरकारलाई आवश्यक खबरदारी गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँले सांसदहरूको भूमिका जनताका सरोकारका विषयलाई तार्किक, तथ्यपरक र प्रभावशाली ढंगले प्रस्तुत गर्नु रहेको उल्लेख गर्दै भन्नुभयो, “हामीले आफ्ना कुरा कसरी अझ वजनदार बनाउने, जनताका आवाजलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा यहाँहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ।”
सचिव अर्यालले यस्ता कार्यक्रम पार्टी निर्माणका दृष्टिले पनि महत्वपूर्ण हुने बताउँदै अनुभवी नेतृत्व तथा निरन्तर अध्ययन–अनुसन्धानमा खारिएका विषयविज्ञहरूको सहभागिताबाट सांसदहरूले धेरै कुरा सिक्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार प्रशिक्षण कार्यक्रमले संसदभित्र पार्टीको प्रस्तुतिलाई थप प्रभावकारी बनाउनुका साथै जनअपेक्षाअनुसार जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्न सांसदहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्