जनता टाइम्स

३१ असार २०८०, आईतवार ०८:४१

सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा


काठमाडौं, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ । त्यही होडबाजीले मन्त्री र सचिवबीच विवाद पनि हुने गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बिहीबार दिउँसो साढे ३ बजेतिर छड्के जाँच गर्दा अनुपस्थित रहेको पाइएपछि मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरी कापीमा रातो घेरा लगाइ दिनुभएको छ।

मन्त्री मोदी त्यस दिन अकस्मात् सचिव पुष्कर र मन्त्रालयका चार सहसचिवको कार्यकक्षमा छड्के गर्न पुग्नुभएको थियो । त्यतिबेला पुष्कर र श्रेष्ठ आफ्नो कार्यकक्षमा हुनुहुन्थेन । त्यसपछि तत्कालै मन्त्री मोदीले दुवैको हाजिरी कपीमा रातो घेरा लगाइदिनु भएको हो ।

मन्त्री मोदीका स्वकीय सचिव ताजिम अन्सारीका अनुसार सचिव र एक सहसचिवमन्त्रीलाई जानकारी नगराई मन्त्रालयबाट बाहिर गएकाले छड्के गरिएको थियो । ‘कमसेकम सचिव र सहसचिव मन्त्रालय बाहिर जानुपरे मन्त्रीज्यूसँग सहमति लिनुपर्ने वा जानकारी गराउनुपर्ने हो । यस्तो परम्परा बसोस् भन्ने उद्देश्यबाट मन्त्रीज्यूले सचिव र सहसचिवको हाजिरी कापीमा रातो घेरा लगाउनुभएको हो,’ अन्सारीले भन्नुभयो, ‘बिहीबार साढे ३ बजेदेखि सचिव र सहसचिव श्रेष्ठ कार्यकक्षमा हुनुहुन्नथ्यो ।’

मन्त्री मोदीको सचिवालयमा कार्यरत अर्का एक कर्मचारीले जानकारी नगराई जानु भएकाले सचिव पुष्कर कारवाहीमा परेको बताउनुभयो । कृष्णहरि पुष्कर, सचिव माथिल्लो तहका कर्मचारीहरूले विभागीय मन्त्रीलाई नटेर्ने प्रवृत्ति मौलाएको र त्यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । ‘सचिव र सहसचिव मन्त्रीप्रति जिम्मेवार हुनुपर्छ तर अहिले अनुशासनहीन अवस्था देखिएको छ,’ उहाँले भन्नुभयो । यो समाचार आजको नागरिक दैनिकमा छ ।