काठमाडौं, भदौ १८
प्रहरीले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का कार्यकारी निर्देशकलाई बयानका लागि बोलाएको छ । चिनियाँ ह्याकरहरुले नेप्सको स्टिम ह्याक गरेर रकम निकालेपछि सिइओ प्रविण क्षेत्रीलाई सोधपुछका लागि बोलाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले नेप्सका सीइओ क्षेत्रीलाई बुधबार बयानका लागि आउन भनेको छ । परिसरका डीएसपी होविन्द्र बोगटीले आफ्नो सिस्टम ह्याक गरेर लुटेराहरुले रकम लुट्दा पनि नेप्सले अहिलेसम्म प्रहरीलाई खबर नगरेको तथा अनुसन्धानमा पनि सहयोग नगर्ने बताउनु भयो । डेढ दर्जन बैंकको इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको जिम्मा लिएर बसेको नेप्स यो घटनाको बढी जिम्मेवार हुनुपर्ने डीएसपी बोगटीको भनाइ छ ।
नेप्सको सिस्टममा ह्याकरले मालवेर भाइरस पठाएर आक्रमण गरी नेपालबाट १ करोड ७६ लाख र भारतबाट १ करोड ५ लाख भारु निकालेको थियो । नेपालमा ७०० पटक र भारतमा १००० पटक भिसा कार्ड घोटेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राष्ट्र बैंकको निर्देशन पछि नेप्सले मंगलबार फरेन्सिक टेस्टका लागि सिंगापूरको भेरी जोन कम्पनीका प्राविधिकलाई काठमाडौं बोलाएको छ । उक्त कम्पनीका २ जना प्राविधिक बुधबार साँझसम्म काठमाडौं आइपुग्ने नेप्सका सीइओ क्षेत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्