काठमाडौं, साउन ८ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी भएको घटना बाहिरिएपछि गृह र अर्थमन्त्रीलयमा निकै खल्बली मच्चिएको छ ।
बिमानस्थलबाट भन्सार कार्यालय, अध्यागमन बिभाग र नेपाल प्रहरीको संलग्नताबिना तस्करी हुनै नसक्ने भए पनि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महत दुवै आफूहरु भ्रष्टाचारबिरोधी अभियानमा रहेको बताइरहनु भएको छ । एक क्वीन्टल सुन तस्करी प्रकरणले भने गृहमन्त्री श्रेष्ठको भ्रष्टाचारबिरोधी अभियानको नारा नै समाप्त पारिदिएको छ । सुन पास भएको दिनको घटना र त्यसपछिका तथ्यहरुले गृह मन्त्रीको जानकारीबिना त्यो काम संभव थिएन भन्ने तथ्यहरु उजागर भएका छन ।
गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित भन्सार जाँचपास प्रक्रियाबाटै बाहिरिएको एक क्वीन्टल सुन प्रकरणमा प्रहरी र गृह नेतृत्वसँगै अर्थ मन्त्रालय र भन्सार प्रणालीको भूमिका नै शंकास्पद रहेको तथ्य पनि फेला परेको छ । बिमानस्थल भन्सार कार्यालयस्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार गृह मन्त्रालयसँग सेटिङ मिलाएर नै काठमाडौंसम्म सुन ल्याउन भन्सार प्रणाली प्रयोग भएको थियो । दुई मन्त्रालयबीच सेटिङ मिलाएर नै सुन तस्करीमा काठमाडौंसम्म ल्याएर भण्डारण गर्ने र उहाँबाट वितरण गर्ने गरी दुई तरिकाबाट अबलम्बन गरिएको थियो । तस्करीका लागि प्रहरीलाई मिलाउनुका साथै भन्सार प्रणाली नै फितलो बनाउने काम भएको छ ।
सुन प्रकरण छानबिन गरिरहेको राजश्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार अत्याधुनिक भन्सार मनिटरिङ प्रणालीलाई छलेर तस्कर समूहले सुन पास गराउनुले बिमानस्थलमा रहेका सवै संयन्त्र र त्यो संयन्त्रसँग संलग्न मन्त्रालयका नेतृत्व नै मिलेको हुनुपर्छ । ती अधिकारीका अनुसार अहिलेसम्मको अनुसन्धानले नेपालसम्म सुन ल्याउन, विमानस्थलबाट सुन बोकेर भण्डारण गर्न, सुनलाई नेपाली बजार बेच्न र अर्को मुलुक पुर्याउन फरक फरक सञ्जाल सक्रिय रहेको देखिएको छ ।
विभागले सुन ल्याउने, भन्सार प्रक्रिया पूरा गर्ने, भन्सारबाट लिएर गोदाममा पुर्याउने र भण्डारण गर्ने समूह र सुनलाई एकैसाथ नियन्त्रणमा राखेको छ । यसबाट सिंगो भन्सार प्रणालीदेखि सुरक्षा निकाय र गृह मन्त्रालयको भूमिका माथि आशंका उब्जिएको हो । सुन आएको गोदाम, एक्सरे जाँच पास भएको क्षेत्र, मूल्यांकन र बाहिरिने गेटको समेत हरेक मिनेटको सीसीटीभी मनिटरिङ हुने प्रणालीमा तस्करको समूहलाई संरक्षण गर्ने अवस्था नआई यति ठूलो मात्रामा कारोबार सम्भव नै नहुने अनुसन्धानमा संलग्न अधिकारीहरुको बुझाइ छ ।
स्रोतका अनुसार सुन तस्करी भएको दिन गत मंगलवार विमानस्थलका सुरक्षा प्रमुख र भन्सार प्रमुख दुवै विदामा थिए । विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) अर्जुन चन्द ठकुरी सोही दिनदेखि बिदामा बस्नुभएको थियो । उहाँको एक साताको बिदा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट स्वीकृत भएको थियो । डिआइजी चन्द उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जानकारी गराएर नै बिदामा बसेको स्रोतको भनाई छ ।
विमानस्थलबाट भटाभट सुन भित्रिरहेको बेला विमानस्थल सुरक्षा प्रमुख गृहमन्त्रीलाई जानकारी गराएर बिदामा बस्नुले नै गृह नेतृत्वतिर आशंक उत्पन्न भएको छ । बिमानस्थल प्रहरीकै नेतृत्व गर्नुभएका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बिज्ञानराज शर्माले तीन निकायको संलग्नता र सेटिङबिना बिमानस्थलबाट तस्करी संभव नभएको निश्कर्ष सार्वजनिक गरेपछि पनि दुवै मन्त्रालयको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको हो ।
‘जहाजमार्फत आउने यात्रु र ‘कस्ट्युम’सम्बन्धी विश्लेषण गर्ने जिम्मा अध्यागमन र भन्सारको हो । यस क्रममा केही गडबड भए मात्रै प्रहरीको भूमिका आउँछ । त्यसैले विमानस्थलस्थित भन्सार, अध्यागमन र प्रहरीको मिलेमतोविना तस्करी हुनै सक्दैन,’ पूर्वएआइजी शर्माले भन्नुभएको छ ।
त्यसो त समेत सार्वजनिक भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर पठाइएका आठ पोका सामानभित्र तस्करीको करिब एक क्विन्टल सुन बरामद हुनुअगावै सो गिरोहले निकै ठूलो परिमाणको सुन उम्काएको तथ्य बाहिर आएको छ ।
एक क्वीन्टल सुन काण्डमा मुछिएको रेडी ट्रेडले पछिल्लो दुई महिनामा मात्रै यसबाहेक १ हजार ९ सय ९७ किलो सामान ल्याएको पुष्टि भएपछि यो तथ्य बाहिर आएको हो । नेपाल, भारत र हङकङमा व्यावसायिक आवरणमा तस्करी धन्दा चलाएको गिरोहले मे, जुन र जुलाईमा पटक–पटक गरी ३ हजार ८ सय ८१ थान सामान ल्याएको भन्सारको अभिलेखमा छ ।
रेडी ट्रेडले २ हजार ७ सय थान सेभर (दाह्री काट्ने), एउटा मेकानिकल मोटर र १ हजार १ सय ८० थान ब्रेक सु भित्र्याएको हो । ती सामान जाँचपासबाटै बाहिर निकालिएका थिए । अनुसन्धानमा संलगन अधिकारीले दिएको जानकारी अनुसार यसअघि सहज रुपमा सामान उम्काउन सफल भएकाले त्यसकै निरन्तरताका रूपमा पछिल्लो पटक एक क्विन्टल सुन ल्याइएको हो ।
रेडीका नाममा मे १७ मा ६६ किलो, मे २१ मा ६६ किलो, मे २४ मा ६६ किलो, मे २६ मा ५२ किलो सेभर आएको थियो । त्यस्तै, जुन ६ मा १ सय ३२ किलो, ७ जुनमा ६६ किलो, १२ जुनमा ६६ किलो, जुन १६ मा १ सय २ किलो, जुन १९ मा ६६ किलो, जुन २२ मा ९९ किलो, ९ जुलाईमा ३३ किलो, १८ जुलाईमा ३२ किलो सेभर ल्याइएको थियो । ती सामान चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले निर्यात गरेको थियो । मे ३१ मा ल्याइएको ६६ किलोको मेकानिकल मोटरको निर्यातकर्ता ताइवानको तालमड कम्पनी रहेको भन्सारको अभिलेखमा उल्लेख छ ।
यस्तै, रेडीकै नाममा मे २४ मा ३४ केजी, मे २८ मा ३८ केजी, मे ३१ मा ३८ केजी ब्रेक सु आएको थियो । जुन ६ मा ५७ केजी, जुन ७ मा ३९ केजी, जुन १२ मा ३८ केजी, जुन १४ मा ७८ केजी, जुन १८ मा ३८ केजी, जुन २३ मा ५८ केजी, जुन २६ मा १९ केजी, जुन २८ मा ७६ केजी ब्रेक सु भित्र्याइएको थियो । यस्तै, जुलाई ३ मा १ सय १४ केजी, जुलाई ६ मा ७६ केजी, जुलाई ९ मा १ सय १४ केजी, जुलाई १२ मा १ सय १६ केजी, जुलाई १८ मा १ सय ५२ केजी र जुलाई २४ मा ३४ केजी ब्रेक सु रेडी ट्रेडकै नाममा ल्याइएको थियो । ब्रेक सु चीनकै जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले पठाएको थियो ।
तस्करीको सुन पास गराउनकै लागि रेडी ट्रेड फर्म खोलिएको तथ्य पनि अनुसन्धानको क्रममा भेटिएको छ । ब्रेक सुको आवरणमा जाँचपास गर्ने विमानस्थलका भन्सार अधिकृतसहित तीन जना निलम्बनमा परेका छन भने भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल, त्यसपछि हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट पक्राउ परिसकेका छन ।













प्रतिक्रिया दिनुहोस्