जनता टाइम्स

१५ श्रावण २०८०, सोमबार १०:३५

प्रधानमन्त्री दाहाल र ओलीबीच आज पनि भेटबार्ता, यस्तो छ मुख्य कुरा


काठमाडौं, साउन १४। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने, संसदको अवरोध हटाउने र मंगलबार बोलाइएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको बताइएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटको मुख्य एजेण्डा संसदमा जारी अवरोध हटाउने रहेको बताउनु भयो । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसदमा अवरोध गरेको छ ।

‘छलफल जारी छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने हाम्रो माग छ । समिति बने सदन खुल्छ, नभए विरोध यथावत रहन्छ,’ सचेतक गिरीले भन्नुभयो । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।