जनता टाइम्स

१५ श्रावण २०८०, सोमबार १८:१७

सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन : महेश बर्तौला


काठमाडौं, १५ साउन । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिलेपनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताउनुभएको छ । आज संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै एमाले सचेतक बर्तौलाले सरकारमै रहेका उच्च व्यक्तित्वहरू पर्ने डरले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताउनुभएको हो ।

उहाँले देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा अनेकौँ सेटीङ गरेर देशलाई बदनाम गर्न लागिरहेको बताउनु भयो । बर्तौलाले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्टलका क्विन्टल सुनहरू नेपाल भित्र्याउने र अन्यत्रतर्फ निर्यात गर्ने गतिविधिमा सरकारको प्रत्यक्ष सहभागिता रहेको बताउनुभयो ।

सचेतक बर्तौलाले भन्नुभयो, ‘सुन तस्करी प्रकरणमा सरकार पक्षको र सरकार निर्माण गर्ने मूर्धन्य नेताहरूको प्रत्यक्ष संलग्नतामा यी घटनाहरू भएका छन् । एक पछि अर्को तथ्यले प्रमाणहरूलाई स्विकार्दै गएको देखिन्छ । देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्ने सरकार अनेकौ सेटीङ गरेर देशलाई बदनाम गर्ने स्थितिको विकास गरिरहेको छ ।’

उहाँले थप्नुभयो, ‘नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्टलका क्विन्टल सुनहरू नेपाल भित्र्याउने र अन्यत्रतर्फ निर्यात गर्ने यहाँबाट जे खालको गतिविधि सरकारको प्रत्यक्ष सहभागितामा भइरहेको छ। त्यसकारण संसद्मा उच्चस्तरीय छानबिन समिति नभएसम्मका लागि अन्य प्रक्रियाहरूलाई हामीले रोकेका छौं । जबसम्म सरकार उच्च स्तरीय छानबिन समिति बनाएर तमामखालका समस्याहरूलाई निष्पक्ष पारदर्शी ढङ्गबाट सत्य, तथ्य बुझेर दोषीलाई कारबाही गर्नुपर्छ । सामान्य मानिसहरु छैनन् यहाँ। दलका मूर्धन्य नेताहरू हुनुहुन्छ ।’

‘महत्त्वपूर्ण ओहोदामा बसिसकेका, जिम्मेवारीमा बसी सकेका मन्त्रीहरू हामीले देखिरहेका छौं। तसर्थ संसद्मार्फत सरकारलाई खबरदारी गर्छौं । सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन । उच्चस्तरीय छानबिन समिति बनाउँदा खेरी सरकारमा बसेका गृहमन्त्री भ्रष्टाचारलाई निर्मूल बनाउँछु भन्नुहुन्छ । तर, क्विन्टल सुनहरू बाहिरिन्छ । अर्थ मन्त्रालयले बाहिरबाट समाउँछ ।’ सचेतक बर्तौलाले बहालवाला मन्त्रीहरुले देशका स्रोत साधनमा निजी हीतमा उपयोग गर्न चाहना गरिरहनुभएको बताउनुभयो ।