जनता टाइम्स

१९ श्रावण २०८०, शुक्रबार १७:१०

पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै सूचना विभागमा धर्ना


काठमाडौं, १९ साउन । श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ । आज नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवी पत्रकारले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापनपत्र समेत बुझाउनुभएको हो । महासंघको तर्फबाट बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपालले विभागमा आएका उजुरीलाई कार्यविधिले तोकेअनुसार फछ्र्यौट गर्दै आएको बताउनुभयो ।

उहाँले प्रेस रजिष्टारको भूमिका तोकिए जति निर्वाह गरेको पनि दाबी गर्नुभयो । उहाँले श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफलअघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीकहाँ आएको जति पनि उजुरी छन्, यसलाई कार्यविधि तोकेअनुसार समयमा नै फछ्र्यौट गर्ने गरेका छौँ । हामीलाई दिएको अधिकार वार्ता, मध्यस्थता र मेलमिलाप दिएको छ । प्रेस रजिष्टारको भूमिका तोकिएजति निर्वाह गरेका छौँ । श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफल व्यापक बनाउनुपर्छ ।’

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो कि भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यसायिक विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले श्रमजीवि पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका विभागबाट हुन नसकेको उल्लेख गर्नुभयो ।