काठमाडौं, साउन २२ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको विवाद चरम सीमामा पुगेको छ । महिला संघको अध्यक्ष उषा राउत मिश्रले एकलौटी रुपमा जिल्ला अध्यक्षहरु मनोनित गरेपछि अर्को पक्ष कडा बिरोधमा उत्रिएसँगै संघको बिवाद छताछुल्ल भएको हो ।
अध्यक्ष मिश्रले संस्थापनइतर पक्षका १२ जना जिल्ला अध्यक्ष हटापछि विवाद बढेको हा । संस्थापनइतका २० केन्द्रीय सदस्यले आज पत्रकार सम्मेलन गरी निर्णय सच्याउन चेतावनी दिएका छन् । ३ दिनभित्र निर्णय नसच्याए देशभर समानान्तर समिति बनाउने र २० जना केन्द्रीय सदस्यले सामूहिक राजनीनामा दिने चेतावनी पनि दिएका छन ।
संघको विधान विपरीत अध्यक्ष मिश्रले १२ जिल्लाका अध्यक्ष हटाएको प्रति संस्थापनइतरले विरोध गरेका छन् । स्पष्टीकरणको अवसर समेत नदिई जिल्ला अध्यक्ष तोकिनु लोकतान्त्रिक पद्धतिको उपहास भएको विज्ञप्तिमा जनाइएको छ ।
अध्यक्ष मिश्रले सोलुखोम्बुमा छिल्हामु शेर्पा, बारमा सीता मैनाली, पर्सामा विद्या श्रेष्ठ, सिरहामा विमला निरौला, ताप्लेजुङमा मीना गुरुङ, इलाममा निर्मला सञ्जेल, महोत्तरीमा विना तिवारी, रौतहटमा भुवनी गिरी, कास्कीमा कोपिला रानाभाट, झापामा सुशीला ढकाल र हुम्लामा विजया बुढालाई हटाएर नयाँ अध्यक्ष मनोनीत गर्नुभएको छ ।
अध्यक्ष मिश्रले गरेको निर्णयको विरोधमा पार्टीका सभापति, उपसभापति महामन्त्री, सहमहामन्त्री र पदाधिकारीलाई ध्यानाकर्षण गराइएको समेत उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्