जनता टाइम्स

८ भाद्र २०८०, शुक्रबार १८:१७

धरानमा निषेधाज्ञा जारी, सामाजिक सद्भाव भड्काउने जो कोहीलाई पक्राउ गरी कारबाही गर्ने चेतावनी


सुनसरी, भदौ ८ । धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकले आजबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु समर्थकहरूले शनिबार प्रदर्शनको आह्वान गरेपछि संभावित दुर्घटना रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको जानकारी दिनुभयो ।

धरानको मंगलबारेमा १५ दिन अगाडि गाई काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बिवाद चर्किदै गएको छ । यही बिवादमा हिन्दुवादी संस्थाले प्रदर्शन गर्न लागेका हुन । हिन्दु समर्थकहरूले गाईगोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै भोलि प्रदर्शनको आह्वान गरेका थिए।

हिन्दु समर्थकहरूले प्रदर्शन गर्ने भएपछि धरानका पहिचानवादीहरूले प्रतिकार गर्ने कार्यक्रम राखेपछि सामाजिक सद्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालयले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन पनि प्रतिबन्ध लगाएको हो ।

धरानमा सामाजिक सद्भाव भडकन नदिन शनिबार गर्ने भनिएको प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । उहाँले जातीय र धार्मिक आन्दोलन गरी सामाजिक सद्भाव भड्काउने जो कोहीलाई पनि पक्राउ गरी कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

उहाँका अनुसार धरान प्रवेश गर्ने सुनसरीको तरहारा, चतरा, नडाहा, धनकुटाको भेडेटार र मोरङको केराबारी हुँदै धरान प्रवेशमा प्रतिबन्ध लगाइएको छ । सो अवधिमा अत्यावस्यक कामबाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली/भेला जम्मा/प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न/नगराउन आदेशमा भनिएको छ।

’ स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, न्याली/भेलाजम्मा/प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागु हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ आदेशमा भनिएको छ, ‘यस आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

धरानमा कुनै अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । धरानको शान्ति सुरक्षा मजबुत बनाउन ५ हजार बढी जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।